२०८३ बैशाख २१, सोमवार

आंशिक सैन्य परिचालनको निर्णय गर्दा त्रुटि भएको रुसको संकेत

बढ्दो सार्वजनिक विरोधबीच रुसी प्रशासन क्रेमलिनले युक्रेनमा लड्न आफ्ना नागरिकहरुलाई परिचालन गर्ने निर्णयमा केही त्रुटि भएको संकेत गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले गल्ति भएको संकेत गर्दै त्यसलाई सच्च्याइने बताएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “केही गल्तीहरु भएका छन् र अवस्थाको सुधारका लागि क्षेत्रीय गभर्नरहरुले काम गरिरहेका छन् ।’’ पुटिनले गत साता युक्रेनमा लड्नका लागि ३ लाख रुसी नागरिकलाई परिचालन गर्ने आदेश दिएका थिए ।

तर, धेरै सैन्य अनुभव नभएका र असक्षम व्यक्तिलाई पनि परिचालनको तयारी गरिएको विभिन्न रिपोर्टमा जनाइएको थियो । परिचालनको विरोधमा रुसभर विरोध प्रदर्शनको आयोजना गरिएको छ । प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । पुटिनले जगेडा सैनिकलाई परिचालन गर्न दिएको आदेशले रुसी सेनाहरू युक्रेनको युद्धभूमिमा नराम्ररी असफल भइरहेको देखाएको पश्चिमा मुलुक एवम् युक्रेनका सैन्य विशेषज्ञहरुले टिप्पणी गरेका छन् । रुसले युक्रेनमाथि हमला सुरु गरेको सात महिनाभन्दा धेरै भएको छ ।

त्यस्तै, पेस्कोभले रुसको सीमा बन्द नभएको समेत स्पष्ट पारेका छन् । हालसम्म रुसले आफ्नो सीमा बन्द गर्नेबारे कुनै निर्णय नगरेको पेस्कोभले बताएका हुन् । पुटिनले आशिंक सैनिक परिचालनको घोषणा गरेसँगै पछिल्लो समय रुस छाडेर विदेश जानेको सङ्ख्या ह्वात्तै बढेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीर एवम् भिडियोहरुमा रुसको सीमा नाकामा देश छाड्न चाहने मानिसहरुको लामो लाइन देख्न सकिन्छ ।

यसैबीच, रुसमा विलय हुन स्वघोषित ‘जनमत संग्रह’ को लागि मत संकलन गर्न रुसी कब्जामा रहेका युक्रेनी भूभागमा रुसी सशस्त्र बल घर–घर पुगेका छन् । दक्षिणी खेरसनमा मत संकलन गर्न रुसी सुरक्षाकर्मीहरू सहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्