२०८३ कार्तिक २४, सोमवार

तिहार मनाउन घर आएका श्रीमानको प्रेमीसँग मिलेर हत्या, भारत भाग्दै गरेकी श्रीमती पक्राउ

तिहार मनाउन घर फर्किएका मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको हत्या भएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकी श्रीमती र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा बुधरामकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनिल मिश्र पक्राउ परेका हुन्। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले दुवैलाई नियन्त्रणमा लिइएको जानकारी दिएकी छन्।

झेराहाटस्थित एक उद्योगमा मजदुरी गर्दै आएका बुधराम आइतबार तिहार मनाउन घर पुगेका थिए। घरमै रहेका बेला उनको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घर फर्किएपछि बुधराम, कमली र सुनिलले सँगै मदिरा सेवन गरेका थिए। मदिरा सेवनपछि बुधराम कोठामा सुत्न गए। उनी निदाएपछि कमली र सुनिलले योजनाअनुसार टाउकोमा फलामको रड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

टाउकोमा गम्भीर चोट लागेका बुधरामको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनीहरूले कोठाको ढोका बाहिरबाट ताल्चा लगाएर घटनास्थल छाडेको प्रहरीको भनाइ छ। पछि १३ वर्षीया छोरीले ढोकाको चाबी खोलेर हेर्दा बुबालाई रक्ताम्य अवस्थामा देखेपछि घटना बाहिर आएको थियो। स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरीले घरनजिकै लुकेको अवस्थामा सुनिललाई पक्राउ गरेको थियो। घटनापछि फरार रहेकी कमलीलाई भने सोमबार बिहान घरबाट केही टाढाको धानबारीबाट नियन्त्रणमा लिइएको हो। झोला बोकेर भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कटवालले बताइन्।

प्रहरीका अनुसार कमली र सुनिलबीच केही समयदेखि विवाहेत्तर सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त सम्बन्धबारे बुधरामले थाहा पाएपछि त्यसलाई लुकाउन दुवै मिलेर हत्या योजना बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्