२०८३ असार २१, आइतवार

मतदानमा सहभागी हुनोस्, गठबन्धनको जित सुनिश्चित भइसक्यो: सत्ता गठबन्धन

सत्ता गठबन्धनमा आबद्ध चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै आसन्न निर्वाचनमा आफूहरूको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । बिहीबार चार दलका शीर्ष नेतृत्वको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनमा जनलहरमा देखिएको उल्लेख छ ।

“निर्वाचन प्रचारप्रसार तीव्र गतिमा अगाडि बढिरहेकै छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता–कार्यकर्ताहरू उत्साहित भएर सहभागी हुनुभएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौँ,” अपिलमा लेखिएको छ, “यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरू एवं शुभेच्छुकहरूमा हार्दिक अपिल गर्दछौँ ।” अपिलमार्फत उनीहरूले गठबन्धनका प्राथमिकताहरू प्रस्ट रहेको भन्दै संविधानमाथि आक्रमण हुन नदिने र विकासका पूर्वाधारलाई सम्पन्न गर्ने गरी साझा संकल्पसहितको प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेको उल्लेख गरेका छन् ।

“यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरूको गठबन्धनलाई उदांगो पार्दै परास्त गर्नुपरेको छ । यसको अर्थ संविधानको भावनाअनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराउनु हो,” अपिलमा लेखिएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्