सुश्मिता वानिया/गणेशमान बसेल। नेपालमा वर्षौनी विदेश पढ्न जाने विद्यार्थीको दर बढ्दो छ । नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनका अनुसार केही वर्ष यता विदेश अध्ययनका लागि नेपालबाट ठूलो रकम बाहिरिरहेको छ । नेपालमा भएका शैक्षिक संस्थाहरुलाई स्तरोन्नति गर्ने, नयाँ शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याउने, र सरकारले यूवा लक्षित विभिन्न कार्यक्रमहरु पनि ल्याईरहेको छ । तर, पनि यति ठुलो संख्यामा किन विदेश जाँदै छन त नेपाली विद्यार्थी ? यसका पछाडिका कारणहरु के के हुन् त ?
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै वैदेशिक अध्ययनमा १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । जुन गत आर्थिक वर्षको साउनको तुलनामा ५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७९/०८० को साउनमा वैदेशिक अध्ययनमा ७ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । १ लाख १० हजार भन्दा बढी विद्यार्थीबाट गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा ४८ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।
यसरी हरेक वर्ष वैदेशिक अध्ययनको नाममा अर्बाैं रकम बाहिरिने गरेको छ । नेपालको शिक्षाको गुणस्तर, शैक्षिक अवस्थिति, शिक्षापछि रोजगारीको अवस्था लगायत कारण पनि विद्यार्थीको नाममा विदेशीनेको संख्यामा कमी आउन सकेको देखिन्न । यसरि विद्यार्थी बाहिरिनुमा नेपालको शैक्षिक प्रणाली नै कमजोर भएको शिक्षाविद्हरु बताउँछन् ।
शिक्षा मन्त्रालयको तथ्याङकअनुसार ०७९ साउनदेखि ०८० असार मसान्तसम्म १ लाख १० हजार २ सय १७ जनाले नो अब्जेक्सन लेटर अर्थात एनओसी लिएका छन् । यसरि नै आर्थिक वर्ष ०७८÷७९ मा १ लाख १२ हजार ९ सय ६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए । विदेशीनेको ग्राफ र बाहिरिने रकमका कारण पनि मुलुकको अर्थतन्त्रमा यसले संकट ल्याउने तर्क जानकारहरुको तर्क छ । विदेश अध्ययन पछिल्लो समय सामाजिक सांस्कृतिक संस्कारको रुपमा नै अघि बढ्न थालेको मनोविद्को भनाई छ ।
विदेश अध्यनमा विद्यार्थीको दर वर्षौनी बढ्दै जानुमा राजनीतिक अस्थिरता, शैक्षिक संस्थाहरूमा हुने राजनीति, न्यून रोजगारीको अवसर लगायत भएको जानकारहरु बताउँछन् । यसरी विद्यार्थी बाहिरिदा अर्थतन्त्रमा मात्रै चाप नपरेर उत्पादनशील जनशक्ति पनि बाहिरिने भएकाले गम्भीर समस्या निम्तिने खतरा बढ्न थालेको छ । विदेशमा अध्ययन गरेर नेपाल नफर्किने युवा जनशक्ति ठूलो रहेकाले पनि यसलाई रोक्न सरकार र सरोकारवाला निकायले पहल थाल्नुपर्ने आवश्यकता छ ।







प्रतिक्रिया लेख्नुहोस्