२०८३ बैशाख १७, बिहिबार

चीनमा भूकम्प: मृत्यु हुनेको संख्या १२६ पुग्यो

चीनको तिब्बतमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको छ।

मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो। भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको छ।

सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन्। त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन्। भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन्। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन्।

यूएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्