२०८३ बैशाख ३०, बुधबार

दिक्तेलबाट काठमाडौँ जाँदै गरेको गाडी काभ्रेमा तोडफोड: ९ जना पक्राउ

दिक्तेलबाट काठमाडौँ जाँदै गरेको टाटा सुमोमाथि काभ्रेको भकुण्डेबेँसीस्थित पात्लेखेतमा तोडफोड भएको छ। वीपी राजमार्ग अन्तरगत दिक्तेल–काठमाडौँ सडकखण्डको पात्लेखेतमा विपरित दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरुले साइड नदिएको भन्दै तुवाचुङ मारातिका यातायात प्रा.लि. खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमाथि ढुङ्गामुढासहित तोडफोड गरेका हुन्।

यात्रु लिएर काठमाडौँ हिँडेको सुमोमाथि तोडफोड भएपछि चालक केवल राईले गाडी भगाएर काभ्रे प्रहरी चौकी पुर्‍याएको यातायात प्रा.लि.का अध्यक्ष टेकिन्द्र राईले जानकारी दिएका छन्। गाडी तोडफोडमा संलग्नलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भएको उनको भनाई छ। उनीहरुमाथि कडा कारबाही हुनुपर्ने अध्यक्ष राईको तर्क छ। तोडफोडमा संलग्नहरुले मादक पदार्थ सेवन गरेका थिए भन्ने बुझिएको जनाईएको छ। उनीहरुमाथि कडाभन्दा कडा कानुनी कारबाही गर्नुका साथै उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग राखिएको छ।

यात्रु लिएर काठमाडौँतर्फ गइरहेको गाडी बुधबार साँझ बीच सडकमा तोडफोड भएपछि त्यसमा सवार यात्रुहरु बिचल्लीमा परेका थिए। ठूलो समूहमा आएका व्यक्तिहरुले तोडफोड गरेपछि बिचल्लीमा परेका यात्रुहरुलाई अर्को गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पुर्‍याइएको यातायात प्रा.लि.का अध्यक्ष राईले जानकारी दिएका छन्। घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा गाडी तोडफोड गर्नमा संलग्न रहेको आशंकामा नौँ जना व्यक्तिलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए।

गत असोज–१० र ११ गतेको अविरल वर्षाका कारण रोसीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड साँघुरो छ। गुडिरहेको गाडीमा एक्कासी ढुङ्गामुढा गर्न थालेपछि सबै झ्यालढोका थुनेर भगाउन सफल भएको चालक राईले जानकारी दिए। जबरजस्ती भगाएर प्रहरी चौकीसम्म पुर्‍याइएको गाडी तोडफोडका कारण पुनः स्टार्ट (सञ्चालन) नभएपछि सोही ठाउँमा छाडेर अर्को गाडीमा काठमाडौँ गएको चालक राईको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्