नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“अहिलेको विन्दुमा उभिएर भन्दा नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहीँभित्रको अवस्था देखिरहेका छौँ । त्यसप्रति लसपस कसैको छ भने, आशा अपेक्षा छ भने मेरो भन्नु केही पनि छैन,” उनले भने । उनले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ की भनेर भ्रम नपाल्न आग्रह गरे । कम्युनिस्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको उल्लेख गरे ।
“कम्युनिस्टहरू बिग्रिएपछि धेरै गन्हाउने, गन्हाएपछि साह्रै खत्तम हुँदो रहेछ । त्यस्तो नहोस् । हामी चाहन्छौँ । सबै सुध्रिउन् । हामी चाहन्छौँ, सबै सही बाटोमा अघि बढौँ । विगतमा आफूबाट कमजोरी भएका छन् भने सच्याउन्, पुनरवलोकन गरुन् । कमी, कमजोरी स्वीकार गर्ने आँट गरुन्,” उनले भने ।
उनले बिग्रिएकाहरूले आफूले गरेको गल्तीको महसुस गरेर सच्चिन र सुध्रिन जरुरी रहेको बताए । आफूहरू कसैप्रति आग्रह पालेर नबस्ने पनि स्पष्ट पारे ।
प्रतिक्रिया लेख्नुहोस्