राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँबाट भैरहवा जाने जहाज उड्न नसकेपछि अब भरतपुर हुँदै त्यहाँ पुग्ने भएका छन्। भैरहवामा खराब मौसमका कारण उडान प्रभावित भएपछि उनले वैकल्पिक यात्राको योजना बनाएका हुन्।
रास्वपाका नेता गणेश पराजुलीका अनुसार लामिछाने भरतपुर पुगेर त्यहाँबाट भैरहवा जाने तयारीमा छन्। लामिछाने शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। तर दिउँसो १ बजेसम्म पनि भैरहवातर्फको उडान हुन नसकेपछि उनी काठमाडौँमै रोकिएका थिए।
भैरहवामा लगातार खराब मौसम रहेकाले हवाई उडान स्थगित भएको बताइएको छ। अदालतको आदेशअनुसार भैरहवा उपस्थित हुनुपर्ने भएकाले उनले वैकल्पिक मार्ग रोजेको रास्वपाले जनाएको छ।
बिहीबार उच्च अदालत बुटवल, तुलसीपुर इजलासले रवि लामिछानेलाई थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो। उक्त आदेशपछि अदालतमा उपस्थित हुन लामिछाने भैरहवा जान लागेका हुन्। आदेश दिने इजलासमा न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेल सहभागी थिए।







प्रतिक्रिया लेख्नुहोस्