२०८३ बैशाख २३, बुधबार

रास्वपा–बालेन सहमति : रवि सभापति र बालेन भावी प्रधानमन्त्रीका उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको समूहबीच आइतबार (पुस १३) बिहान औपचारिक सहमति भएको छ। मध्यराततिर सम्पन्न सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले हस्ताक्षर गरेका छन्।

सहमतिको अनुसार एकीकरणपछि पनि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने चुनाव चिन्ह घण्टी नै कायम रहनेछ। दलको झण्डा पनि साविककै नीलो पृष्ठभूमिमा सेतो घेरा र बीचमा निलो घण्टी अंकित रहने सहमति भएको छ।

रवि सभापति, बालेन संसदीय दलका नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार

दुवै नेताबीच भएका मुख्य सहमतिअनुसार – रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने, आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह रहने व्यवस्था गरिएको छ।

नवयुवा आन्दोलनको माग सम्बोधन गर्ने प्रतिबद्धता

सहमतिमा दुवै पक्षले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध चलाउँदै आएको आन्दोलनको भावनालाई आत्मसात् गर्दै घाइते तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

१० वर्षभित्र ‘मध्यम आय भएको राष्ट्र’ बनाउने दीर्घकालीन रोडम्याप

रास्वपा–बालेन सहमतिपत्रले आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको देश बनाउने लक्ष्यसहित गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारका कार्यक्रम इमान्दार रूपमा कार्यान्वयन गर्ने उल्लेख छ।

आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासलाई मुख्य आधार मानिएको छ।

संगठन सुदृढीकरण र आयोगमा दर्ता अद्यावधिक

एकीकरणपछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यताका आधारमा समायोजन गर्ने सहमति पनि समावेश छ।

यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै कागजात निर्वाचन आयोगमा अद्यावधिक गर्ने प्रक्रिया सुरु गरिने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्