महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको छ ।
बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उनीसहित विमानमा सवार पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ । शिवसेना (युबिटी) का सांसद अरविन्द सावन्तले यस घटनालाई ‘अत्यन्त दुःखद’ भन्दै पवार परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले बारामती क्षेत्रको विकासमा अजित पवारको ठूलो योगदान रहेको स्मरण गर्दै उनी साहसी र प्रतिबद्ध नेता भएको उल्लेख गरे ।
बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो ।
अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ ।
विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा हुन । उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए ।
पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ सिन्दे नेतृत्वका सरकारहरूमा उनले उपमुख्यमन्त्रीको जिम्मेवारी समालेका थिए । उनका श्रीमती सुनेत्रा पवार तथा छोराहरू जय र पार्थ पवार हुन ।







प्रतिक्रिया लेख्नुहोस्