विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले दुवै पक्षको बहस सुनेपछि विभागलाई थप तीन दिनको म्याद दिएको हो।
योसँगै पौडेलविरुद्ध अनुसन्धानका लागि विशेष अदालतबाट पाँचौँपटक हिरासत म्याद थप भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विभागले उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि व्यवसायी भट्टलाई गैरकानुनी लाभ पुग्ने गरी सहयोगी भूमिका खेलेको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ।
विशेष अदालतमा म्याद थपको माग गर्दै सरकारी वकिलले श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको कारोबार शंकास्पद देखिएको दाबी गरेका थिए।
सरकारी पक्षका अनुसार विभागले हिमालयन एसेट म्यानेजमेन्ट प्रालिको सेयर खरिद–बिक्री तथा लगानीका विषयमा अनुसन्धान गरिरहेको छ। कम्पनीले विभिन्न क्षेत्रमा गरेको लगानीको वास्तविक स्वामित्वबारे शंका उत्पन्न भएकाले त्यस सम्बन्धमा अनुसन्धान अघि बढाइएको सरकारी वकिलको भनाइ छ।
यस विषयमा अनुसन्धान जारी रहेकाले घटनाबारे अन्तिम निष्कर्ष भने अदालतको फैसला र अनुसन्धानको परिणामपछि मात्र स्पष्ट हुने जनाइएको छ।







प्रतिक्रिया लेख्नुहोस्