२०८३ असार ३१, बुधबार

ग्यास आपूर्ति सहज,आजदेखि पूर्ण तौलका सिलिन्डर वितरण सुरु

नेपाल आयल निगमले आज (बुधबार) देखि पुनः १४ दशमलव २ किलोग्राम एलपी ग्यास भरिएका सिलिन्डर बजारमा पठाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यासको लोडिङ अवस्थामा सुधार आएसँगै साविककै परिमाणमा ग्यास भरेर वितरण गर्न उद्योगहरूलाई निर्देशन दिइएको हो।

निगमले १४.२ किलोग्राम ग्यास भएको प्रत्येक सिलिन्डरको उपभोक्ता मूल्य रु २ हजार ६० कायम रहेको जनाएको छ।

यसअघि ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम (आधा तौल) ग्यास भरिएका सिलिन्डर मात्र बिक्री–वितरण गर्न निर्देशन दिएको थियो।

आपूर्ति अवस्था सामान्य बन्दै गएपछि उक्त अस्थायी व्यवस्था हटाएर बुधबारदेखि पुनः १४.२ किलोग्राम ग्यास भरिएका सिलिन्डर बिक्री–वितरण सुरु गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्