पवित्रा खड्काद्वारा निर्देशित नाटक ‘मिस मेनुका: एक संवेदनशील यौनकर्मी’ यही साता हेर्ने अवसर प्राप्त भयो। श्रावण १३ गतेदेखि यो नाटक शिल्पी थिएटरमा मञ्चन भइरहेको थियो। मेरा अधिकांश फेसबुक साथीहरूले नाटक हेरेपछि आ–आफ्ना प्रतिक्रिया सामाजिक सञ्जालमा लेखिरहेका थिए। यौनश्रमिक अधिकारको अभियानमा विगत लामो समयदेखि सक्रिय रहँदै आएकोले पनि नाटक कस्तो होला, कसरी बनाइएको होला भन्ने उत्सुकता हुनु स्वाभाविक नै थियो।
नाटकको पोस्टर सार्वजनिक भएदेखि नै कतिपयले ‘यौनकर्मी’को सट्टा ‘यौनश्रमिक’ शब्द प्रयोग गर्न पाए राम्रो हुने टिप्पणी गरिरहेका थिए। ती टिप्पणीहरूले पनि नाटकप्रतिको मेरो उत्सुकता बढाइरहेको थियो।
गत वर्ष हामीले पनि ‘न्यायको सपना’ नामक नाटक मञ्चन गरेका थियौँ। उक्त नाटकमा यौनश्रमिकले के चाहन्छन्, उनीहरूका आवाज कसरी दबाइएका छन् र समाजले उनीहरूको जीवनलाई कसरी हेर्छ भन्ने सवाल उठाइएको थियो। त्यसैले पनि ‘मिस मेनुका’ हेर्ने उत्सुकता अझ विशेष बनेको थियो। अन्ततः टिमसहित ‘मिस मेनुका: एक संवेदनशील यौनकर्मी’ हेर्न हामी शिल्पी थिएटर पुग्यौँ।
नाटक हेरेपछि पहिलो अनुभूति यही रह्यो– नाटकको कथावस्तुले त्यति प्रभाव पार्न सकेन। तर कलाकारहरूको अभिनयले भने नाटकलाई विशेष बनाएको छ। कलाकारहरूको अभिनयको जति प्रशंसा गरे पनि कम हुन्छ। नाटकको प्रस्तुति, अभिनय र मञ्चीय पक्षमा निकै मेहनत गरिएको स्पष्ट देखिन्छ।
मार्क्सवादी दृष्टिकोणमा आधारित रहेर मञ्चन गरिएको यस नाटकले समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक विभेद र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई उजागर गरेको छ। उच्च वर्गले निम्न वर्गमाथि जातीय, क्षेत्रीय र लैङ्गिक आधारमा गर्ने विभेद, थिचोमिचो र त्यसबाट उत्पन्न हुने द्वन्द्व नाटकमा स्पष्ट देखिन्छ। आर्थिक, सामाजिक तथा सांस्कृतिक पहुँच र अवसरमा उच्च तथा निम्न वर्गबीच समानता हुन नसक्दा उत्पन्न हुने परिणामलाई पनि नाटकले राम्ररी प्रस्तुत गरेको छ। यस अर्थमा नाटकले सामाजिक यथार्थमा आधारित विषयवस्तु प्रस्तुत गरेको अनुभूति हुन्छ।
तर ‘मिस मेनुका: एक संवेदनशील यौनकर्मी’ यौनश्रमिकको कथालाई केन्द्रमा राखेर प्रस्तुत गर्न खोजिएको नाटक भए पनि यसले यौनश्रमिकका सवाललाई पूर्ण रूपमा न्याय गर्न सकेको अनुभूति भएन।
समाजको यथार्थ चित्रण गर्ने क्रममा नाटक कतिपय ठाउँमा पुरानै फिल्मी शैली र ढर्रामा प्रस्तुत भएको देखिन्छ। यौनश्रमिक हुनेबित्तिकै उनीहरू छाडा हुन्छन्, अपशब्द बोल्छन्, चुरोट र रक्सी खान्छन् भन्ने समाजले लगाउँदै आएको लाञ्छना र आरोपलाई नाटकले जस्ताको तस्तै टिपेको अनुभूति हुन्छ। यसले समाजमा विद्यमान सनातन पितृसत्तात्मक सोचलाई चुनौती दिनुको सट्टा कतिपय ठाउँमा त्यसलाई अझ दीर्घजीवी बनाउन सहयोग गरेको देखिन्छ।
यौनश्रमिकहरू पढेलेखेका हुँदैनन्, त्यसैले उनीहरूले जटिल र घुमाउरो कुरा बुझ्न सक्दैनन्; उनीहरूमा ज्ञानको कमी हुने भएकाले ठूला र जटिल शब्द प्रयोग गरेर सजिलै झुक्याउन सकिन्छ भन्ने भाष्य पनि नाटकमा प्रस्तुत भएको छ। यस क्रममा यौनश्रमिकहरूको सोच्ने, प्रश्न गर्ने र विश्लेषण गर्न सक्ने क्षमतालाई नजरअन्दाज गरिएको अनुभूति हुन्छ।
यौनश्रमिक अधिकारको अभियानमा विगत लामो समयदेखि यौनश्रमिकहरूसँगै अभियानरत रहँदा हालसम्म ५० हजारभन्दा बढी यौनश्रमिकसँग साक्षात्कार गर्ने, कुराकानी गर्ने, संगठित गर्ने र उनीहरूका अनुभव सुन्ने अवसर प्राप्त भएको छ। १८ वर्षभन्दा माथिका विभिन्न उमेर समूहका यौनश्रमिकहरूसँग हामी दैनिकजसो भेटघाट गर्छौँ। उहाँहरूमध्ये धेरैजसो सामान्य पारिवारिक जीवन बिताउने, सामान्य पहिरन लगाउने र समाजले सभ्य मानेको भाषामै बोल्ने हुनुहुन्छ।
त्यसैले यौनश्रमिकको जीवनलाई सधैँ रङ्गीन संसारमा बाँच्ने, तडकभडकपूर्ण, अनपढ र छाडा व्यक्तिका रूपमा चित्रण गर्ने सामाजिक प्रवृत्तिलाई नै नाटकले सरक्क टिपेर प्रस्तुत गरेकोप्रति मेरो गम्भीर असहमति छ।
नाटक धेरै चर्चामा आउनुमा यसको शीर्षक पनि एउटा महत्त्वपूर्ण कारण हो भन्ने लाग्यो। समाजले थाहा पाएको, तर खुलेर स्वीकार गर्न नसकेको एउटा विषयलाई नाटकमार्फत हेर्न पाउनु र ‘वास्तवमा के रहेछ?’ भनेर जिज्ञासु हुनु स्वाभाविक हो। कतिपय दर्शकले सामाजिक सञ्जालमा ‘मैले पहिलोपटक यौनश्रमिक भेटेँ’ भनेर उत्सुकतापूर्वक लेखेका प्रतिक्रिया पनि देखिए।
नाटकमा विवेकजङ्ग शर्माले ‘म तिमीलाई साँचो माया गर्छु’ भनेपछि मेनुका विवेकजङ्गप्रति समर्पित हुन्छिन् र नाटकको अन्त्य हुन्छ। यो दृश्यलगायत नाटकका अधिकांश दृश्य स्वनिर्णय र आपसी सहमतिमा गरिने वयस्क यौनश्रममा संलग्न यौनश्रमिकहरूप्रति पूर्वाग्रही देखिन्छन्।
यौनश्रमिक महिलाहरू पुरुषको प्रेमका लागि लालायित हुन्छन् र आफ्नै निर्णय लिन असमर्थ हुन्छन् भन्ने पितृसत्तात्मक सोचलाई नाटकले प्रत्यक्ष वा परोक्ष रूपमा स्थापित गरेको अनुभूति हुन्छ।
झाँ–पल सार्त्रको फ्रान्सेली नाटक ‘ला पे… रेस्पेक्टुअज’लाई करिब एक शताब्दीपछि नेपालको सामाजिक, सांस्कृतिक तथा समकालीन परिवेशअनुकूल पुनर्सृजना गर्ने प्रयास आफैँमा प्रशंसनीय छ। तर नेपालमा स्वनिर्णय र सहमतिमा गरिने वयस्क यौनश्रममा संलग्न व्यक्तिहरूको अनुभव, स्वायत्तता र विविधतालाई थप अध्ययन तथा विश्लेषण गरिएको भए नाटक अझ सशक्त बन्न सक्थ्यो भन्ने लाग्छ।
मिस मेनुकाले विवेकजङ्ग शर्माको अवसरवादी मायालाई अस्वीकार गर्दै उनीसँग पारिश्रमिक लिएर यौनसेवा दिएको दृश्य प्रस्तुत गरी बोल्ड निर्णयसहित नाटकको अन्त्य गरिएको भए नाटक झनै शक्तिशाली बन्न सक्थ्यो। तर नाटकमा यौनश्रमिकहरूलाई सुखसयलको जीवन उपलब्ध गराइदिने हो भने उनीहरू वैकल्पिक उपाय रोज्न तयार हुन्छन् भन्ने धारणा प्रस्तुत गरिएको छ। यसरी यौनश्रमलाई मुख्यतः बाध्यताको तराजुमा राखेर जोखिएको अनुभूति हुन्छ। पितृसत्तात्मक समाजले जे हेर्न चाहन्छ, नाटकले पनि मूलतः त्यही देखाउन खोजेको जस्तो लाग्छ।
‘मिस मेनुका’ले यौनश्रमिकमाथि हुने सामाजिक र संरचनागत विभेदलाई उजागर गरे पनि उनीहरूको स्वनिर्णय, आत्मसम्मान र स्वायत्ततालाई पर्याप्त न्याय गर्न सकेन। यौनश्रमलाई श्रमका रूपमा स्वीकार गर्दै यौनश्रमिकलाई पूर्वाग्रह र पितृसत्तात्मक दृष्टिकोणबाट होइन, अधिकार र सम्मान भएका श्रमिकका रूपमा हेर्न जरुरी छ।
यौनश्रमिक महिलाहरूका विविध अनुभव र अस्तित्वलाई समेट्दै उनीहरूलाई पुरुषको प्रेमको खोजीमा रहेका, निर्णय गर्न असमर्थ वा असभ्य पात्रका रूपमा चित्रण नगरी स्वनिर्णय, आत्मसम्मान, अधिकार र स्वायत्तता भएका व्यक्तिका रूपमा प्रस्तुत गर्न सकेको भए नाटकले नेपालमा रहेका एक लाखभन्दा बढी यौनश्रमिक समुदायप्रति अझ ठूलो न्याय गर्न सक्थ्यो।
नाटकमा मेनुकामार्फत यौनश्रमिकलाई कमजोर पात्रका रूपमा उभ्याइएको छ। यसो भनिरहँदा पवित्रा खड्काको निर्देशनप्रति गुनासो गर्न खोजिएको पटक्कै होइन। एक प्रगतिशील र अधिकारका सवालमा संवेदनशील युवा निर्देशक तथा सामाजिक विषयवस्तुलाई अधिकारमुखी दृष्टिकोणबाट उठान गर्दै आएको शिल्पी थिएटरप्रति केही बढी अपेक्षा गरिएको भने हो।
नाटक निर्माणपूर्व केही यौनश्रमिकसँग प्रत्यक्ष भेटेर, उनीहरूका अनुभव सुनेर तथा उनीहरूको काम र सवालबारे बुझेर समकालीन नेपाली सन्दर्भमा नाटक निर्माण गरिएको भए अझ फरक र यथार्थपरक प्रस्तुति आउन सक्थ्यो भन्ने मेरो धारणा हो।
यसरी फरक धारणा व्यक्त गरिरहँदा नाटकका अन्य सामाजिक र राजनीतिक पक्षबारे धेरै चर्चा नगरौँ। ती विषयमा नाटक हेर्ने धेरै दर्शकले आ–आफ्ना दृष्टिकोण राखिसकेका छन्। यौनश्रमिक अधिकारको अभियानमा सक्रिय अभियन्ताको दृष्टिकोणबाट नाटकमा उठाइएका विभेदका सवाललाई सम्बोधन र प्रशंसा गरिएन भने सिङ्गो नाटक टिममाथि अन्याय हुन्छ।
यौनश्रमिक भएकै कारण समाज, परिवार र अन्य संरचनाबाट हुने विभेदलाई नाटकले राम्रोसँग देखाएको छ। त्यही सामाजिक तथा संरचनागत विभेदको परिणामस्वरूप ग्राहक, प्रहरी र समाजका विभिन्न ‘ठेकेदार’ पात्रहरू यौनश्रमिकमाथि शक्ति प्रयोग गर्ने अवस्थामा पुग्छन्। उनीहरू यौनश्रमिकलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्छन्, उनीहरूबाट फाइदा लिन्छन् र उनीहरूलाई अझ कमजोर बनाउने काम गर्छन्।

ग्राहकले यौनश्रमिकसँग बसेर यौनआनन्द लिने, तर त्यही व्यक्तिलाई ‘तँ गलत काम गर्छेस्, तेरो हैसियत के हो?’ भन्दै अपमान गर्ने; प्रहरीले कानुनको गलत प्रयोग गरी तर्साउने, धम्काउने र विनाकारण पक्राउ गर्ने; नेताले आफ्नो काम पर्दा देवीजस्तो व्यवहार गर्ने तर स्वार्थ पूरा भएपछि घृणाको दृष्टिले हेर्ने सामाजिक यथार्थ नाटकमा प्रस्तुत गरिएको छ। यौनश्रमिकहरू विभिन्न संरचनागत विभेदमा परेका छन् भन्ने सवाल नाटकले उठान गरेर धेरै दर्शकमाझ ‘नेपालमा यौनश्रमिकहरू छन् र उनीहरूको मानव अधिकार सुनिश्चित हुनुपर्छ’ भन्ने जानकारी पुर्याउनु पनि यौनश्रमिकका लागि ठूलो न्याय हो।
तर फेरि प्रश्न उठ्छ– के हामी सबै महिलाले कुनै न कुनै रूपमा यस्तै संरचनागत व्यवहार र विभेद भोगेका छैनौँ?
महिला भएकै कारण हामी दिनरात कुनै न कुनै प्रकारको विभेद र असमानताको सामना गरिरहेका हुन्छौँ। हाम्रा साथीभाइ वा चिनजानका मानिसहरूले पनि अवसर पाएसम्म हामीबाट फाइदा लिन खोजेका उदाहरण हुन सक्छन्। यहाँ कुनै एउटा घटनालाई सामान्यीकरण गर्न खोजिएको होइन। तर्क केवल यति हो–महिला भएकै कारण हामीले संरचनागत विभेदको सामना गरेका छौँ। त्यसमा हाम्रो कामसमेत जोडियो भने विभेद र हिंसाका तहहरू झन् थपिन्छन्।
यौनश्रमिकमाथि गरिने विभेदका कारण पनि यस्ता धेरै अवस्था देखिन्छन्। मुख्य कुरा के हो भने, यौनश्रम पनि श्रम हुन सक्छ भन्ने कुरा स्वीकार गर्न समाज अझै तयार छैन। तर यथार्थ यही हो–यौनश्रमिकहरू छन् र उनीहरूले काम गरिरहेका छन्।
यौनश्रमलाई कामका रूपमा स्वीकार गर्ने सोच नहुँदा र यौनश्रमिकको श्रमलाई श्रमका रूपमा सम्मान नगर्दा उनीहरूमाथि थप अन्याय र दुर्व्यवहार भइरहेको छ। अझ हामीजस्ता मानिसहरूले ‘यौनश्रमिकलाई बचाउने’ नाममा उनीहरूको कामलाई नै अनैतिक ठहर गरिदिएका छौँ। यही नैतिक र अनैतिकताको बहसका कारण धेरै यौनश्रमिकहरू आफैँ पनि आत्मग्लानिको अवस्थामा पुगेका छन्।
अनि हामी भनिरहेका हुन्छौँ–‘हामी तिमीलाई बचाउँछौँ।’ तर उनीहरू वास्तवमा अझ असुरक्षित भइरहेका हुन्छन्। त्यसैले अब हामीले यो मुखुन्डो उतारेर अगाडि बढ्नुपर्छ।
हामी मानव अधिकारको कुरा त गर्छौँ। तर कुनै व्यक्तिले यौनश्रम गरिरहेको छ भने त्यसलाई ‘पक्कै बाध्यताले गरेको हुनुपर्छ’ भन्न हामीलाई हतार हुन्छ। यही समाजमा अन्य धेरै प्रकारका श्रम छन्, जहाँ मानिसहरू अन्य काम नपाएर वा सीमित अवसरका कारण काम गरिरहेका छन्। तर ती कामलाई कसैले उनीहरूको नैतिकता वा चरित्रसँग जोडेर प्रश्न गर्दैन। ‘बाध्यताले गरेको हो’ भनेर हतारमा निष्कर्ष निकाल्दैन। अनि यौनश्रमलाई मात्र किन प्रश्न?
यौनश्रम पनि श्रम हो र यौनश्रमिक पनि श्रमिक हुन्। उनीहरू पनि अरू मानिसजस्तै इमानदार, संवेदनशील, मेहनती, खुसी, दुःखी, बलियो र कमजोर–सबै खालका मानिस हुन सक्छन्।
तर हाम्रो मानसिकता यस्तो छ कि ‘यौनश्रमिक’ भन्नेबित्तिकै उनीहरूमा यी गुणहरू हुनै सक्दैनन् जस्तो व्यवहार गर्छौँ। उनीहरूलाई मानौँ अर्को ग्रहबाट आएका मानिसजस्तो प्रस्तुत गर्छौँ। यही कारणले यौनश्रमिकहरू सधैँ कमजोर, अन्यायमा परेका र समाजका शक्तिशाली मानिने मानिसहरू/ग्राहक, प्रहरी, नेता तथा अन्य संरचनाका अगाडि निरीह पात्रका रूपमा मात्र चित्रित हुन्छन्।
अब यौनश्रमिकलाई इमानदार, संवेदनशील, दुःखी, समाजले नराम्रो मान्ने शब्द बोल्ने, छोटा लुगा लगाउने, रक्सी खाने, चुरोट पिउने, छाडा, अनपढ आदि अनेकौँ ट्याग लगाउन छोडौँ।
यौनश्रमिक पनि श्रमिक हुन्। अन्य काम गर्ने मानिसजस्तै उनीहरू पनि फरक–फरक स्वभाव, रुचि, भावना र जीवन–अनुभव भएका मानिस हुन्। उनीहरूमा पनि अरू मानिसमा जस्तै संवेदनशीलता, आत्मसम्मान, प्रेम, पीडा, सपना र आकांक्षा हुन्छन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन।
त्यसैले यौनश्रमलाई पनि श्रमका रूपमा स्वीकार गरौँ। यौनश्रमिकको आवाज सुनौँ। उनीहरूको कामलाई बुझौँ। उनीहरूको श्रमलाई सम्मान गरौँ। उनीहरूमाथि हुने संरचनागत विभेद अन्त्य गर्न सँगै उभिऔँ। र उनीहरूको कामलाई अपराधीकरणबाट मुक्त (decriminalization) गर्न सबैले पहल गरौँ।
यसो गर्न सके मात्र ‘मिस मेनुका’जस्ता कथाले उठाएका अपमान र मानसिक पीडाबाट यौनश्रमिकहरूलाई मुक्त गर्ने दिशामा हामी अगाडि बढ्न सक्छौँ।







प्रतिक्रिया लेख्नुहोस्