नुवाकोट र रसुवामा आएको प्राकृतिक विपत्तिका कारण बैंकिङ क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रभावित दुई जिल्लाका १७ वटा बैंक शाखा तथा काउन्टरमा प्रारम्भिक रूपमा ५५ करोड ६८ लाख ७० हजार ५१७ रुपैयाँ बराबरको स्थिर सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ।
भवन, फर्निचर, विद्युतीय उपकरण, एटीएम, लकरलगायत भौतिक संरचनामा भएको यो क्षतिमा बैंकको भल्टमा रहेको नगद भने समावेश छैन।
क्षतिको सबैभन्दा ठूलो हिस्सा कृषि विकास बैंकको त्रिशूली शाखामा देखिएको छ। उक्त शाखामा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको स्थिर सम्पत्ति क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै, सिटिजन्स बैंकको देवीघाट शाखामा करिब १ करोड २० लाख, लक्ष्मी सनराइज बैंकको टिमुरे शाखामा ८६ लाख र हिमालयन बैंकको बेत्रावती शाखामा करिब ५८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
रसुवाको टिमुरे क्षेत्रमा ग्लोबल आइएमई, माछापुच्छ्रे, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र सानिमा बैंकका शाखा तथा काउन्टरमा समेत ठूलो क्षति पुगेको छ।
१८ करोडभन्दा बढी नगद प्रभावित
प्रारम्भिक विवरणअनुसार प्रभावित १७ शाखाका भल्टमा रहेको १७ करोड २४ लाख ५७ हजार ३७४ रुपैयाँ नगद हराएको वा नष्ट भएको छ। त्यस्तै, काउन्टरमा रहेको १ करोड १७ लाख ७१ हजार १९५ रुपैयाँ पनि प्रभावित भएको छ।
यसरी भल्ट र काउन्टरमा रहेको मात्रै १८ करोड ४२ लाख रुपैयाँभन्दा बढी नगद प्रभावित भएको देखिएको छ। शाखाहरूमा भएको सम्पूर्ण क्षतिको विवरण संकलन हुन बाँकी रहेकाले वास्तविक क्षति अझै बढ्न सक्ने देखिएको छ।
२६ बैंक कर्मचारी सम्पर्कविहीन
विपत्तिका कारण विभिन्न बैंकमा कार्यरत २६ जना कर्मचारी अझै सम्पर्कविहीन छन्। केही कर्मचारी घाइतेसमेत भएका छन्।
माछापुच्छ्रे बैंकको टिमुरे शाखाका पाँच, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात, प्रभु बैंकका चार, सानिमा बैंकका दुई, लक्ष्मी सनराइज बैंकका दुई तथा हिमालयन र ग्लोबल आइएमई बैंकका एक–एक जना कर्मचारी सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
७८ हजारभन्दा बढी निक्षेप खाता प्रभावित
प्रभावित १७ शाखामा कुल ७८ हजार २०४ वटा निक्षेप खाता सञ्चालनमा थिए। ती शाखाबाट ४ अर्ब ४३ करोड १८ लाख १० हजार ४२८ रुपैयाँ निक्षेप परिचालन भएको थियो।
यस्तै, प्रभावित शाखाबाट २ अर्ब ४२ करोड ८० लाख ९० हजार ४७० रुपैयाँ कर्जा प्रवाह भएको र २ हजार १२५ वटा कर्जा खाता सञ्चालनमा रहेको तथ्यांक छ।
बाढी तथा प्राकृतिक विपत्तिका कारण शाखा, एटीएम र लकर सेवा अवरुद्ध हुँदा हजारौं ग्राहकको नियमित बैंकिङ कारोबार प्रभावित भएको छ।
पुनःस्थापनामा चुनौती
बैंकहरूका लागि अहिले कर्मचारीको खोजी तथा उद्धारसँगै सम्पत्तिको क्षति मूल्यांकन, ग्राहकको निक्षेप तथा कर्जा विवरण सुरक्षित गर्ने र वैकल्पिक माध्यमबाट बैंकिङ सेवा सञ्चालन गर्ने चुनौती देखिएको छ।
विशेषगरी टिमुरे, स्याफ्रुबेसी, मैलुङलगायत क्षेत्रमा बैंकिङ सेवा लामो समय अवरुद्ध हुँदा स्थानीय व्यवसाय, भुक्तानी प्रणाली र दैनिक आर्थिक गतिविधिमा समेत असर पर्न सक्ने देखिएको छ।
प्रभावित शाखाको पुनःस्थापना, कर्मचारी व्यवस्थापन र ग्राहकलाई वैकल्पिक बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने अवस्था देखिएको छ।







प्रतिक्रिया लेख्नुहोस्