२०८३ भदौ १५, सोमवार

बाढीमा परि निधन भएकालाई पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

रसुवामा आएको बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।

पशुपति क्षेत्र विकास कोषले बाढीमा परी निधन भएकाहरूको निःशुल्क दाहसंस्कारका लागि आवश्यक सबै व्यवस्था मिलाएको जनाएको छ। कोषका सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले सेवा सुरु गरिएको जानकारी दिए।

निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न कोषले आग्रह गरेको छ। वैद्यको मोबाइल नम्बर ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

यस विषयमा थप जानकारी आवश्यक परे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा समेत सम्पर्क गर्न सकिने कोषले जनाएको छ।

विपद्को कठिन समयमा एकअर्कालाई सहयोग गर्दै मानवीय भावना र मानवता जोगाउने उद्देश्यले निःशुल्क दाहसंस्कारको व्यवस्था गरिएको सदस्य भण्डारीले बताए।

प्रतिक्रिया लेख्नुहोस्