२०८३ मंसिर १, सोमवार

कोष व्यवस्थापन कम्पनीको १०औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई १०.५० प्रतिशत लाभांश

कोष व्यवस्थापन कम्पनी लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा आयोजित सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन पारित गर्दै शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

सभाले कम्पनीको पूँजी वृद्धि योजनासहित संस्थागत विकास र आगामी कार्यदिशासम्बन्धी प्रस्तावहरू समेत पारित गरेको छ। पूँजी वृद्धि योजनालाई कम्पनीको संस्थागत क्षमता विस्तार तथा आगामी विकासका लागि महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष सुशील हुमागाईँको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति सदस्यहरू सरिता कुमारी पोखरेल, नारायण प्रसाद आचार्य, बलराम पौडेल र दिल बस्नेतको उपस्थिति थियो। कार्यक्रममा कम्पनीका प्रमुख संस्थापक कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, लेखापरीक्षक सीए मुरलीधर तिवारी, कम्पनी रजिस्ट्रारको कार्यालयका प्रतिनिधि तथा कृषि विकास बैंकका तर्फबाट हेमलाल पौडेल सहभागी थिए। सभाको सञ्चालन कम्पनी सचिव राजेन्द्र पराजुलीले गरेका थिए।

सभामा शेयरधनीहरू एकबहादुर बस्नेत, जनार्दन बाबु कट्टेल र डा. राजन थापाले कम्पनीको वित्तीय अवस्था, कार्यसम्पादन तथा आगामी योजनाबारे धारणा राखेका थिए। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कम्पनीमा अवसरसँगै चुनौतीहरू पनि रहेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी लाभांश वितरण गर्न सक्ने गरी कम्पनी सञ्चालन गर्न शुभकामना व्यक्त गरे।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ३४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६२ लाख ७९ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ३४ करोड ८२ लाख रुपैयाँबाट बढेर ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ३ करोड १० लाख ४८ हजार रुपैयाँ रहेको छ। सोही पूँजीका आधारमा शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित भएको हो। वार्षिक प्रतिवेदनअनुसार कम्पनीको लगानी पोर्टफोलियोको कुल उचित मूल्य करिब ३५ करोड १४ लाख रुपैयाँ रहेको छ।

कृषि विकास बैंक लिमिटेडद्वारा स्थापित तथा प्रवर्द्धित कोष व्यवस्थापन कम्पनीले बैंक निक्षेप, ऋणपत्र, विभिन्न कम्पनीका शेयर तथा म्युचुअल फण्डलगायतका क्षेत्रमा लगानी व्यवस्थापन गर्दै आएको छ। कम्पनीले आगामी दिनमा लगानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै संस्थागत क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्