राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कालिका कन्स्ट्रक्सन प्रालिका अध्यक्ष विक्रम पाण्डेले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका छन्।
रसुवा बाढीपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग आह्वान गरेअनुसार पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्।
पूर्वमन्त्रीसमेत रहेका पाण्डेले बुधबार आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा अन्य प्रभावित जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले मुलुकको इतिहासमै त्रासदीपूर्ण घटनाका रूपमा रहेको यस विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।







प्रतिक्रिया लेख्नुहोस्