चीनको तिब्बतमा पहिरोका कारण बनेको ताल फुटेर थप बाढी आउन सक्ने जोखिम बढेपछि उद्धार अभियान स्थगित गरिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार तालको जलस्तर बढ्दै गएपछि उद्धार टोलीलाई घटनास्थलबाट कम्तीमा एक किलोमिटर सुरक्षित दूरीमा हट्न निर्देशन दिइएको छ।
चीन–नेपाल सीमावर्ती केरुङ क्षेत्रमा बुधबार ठूलो पहिरो खसेपछि माटो र भग्नावशेष थुप्रिएर ताल बनेको थियो। पहिरोपछि सयौँ मानिस अझै बेपत्ता रहेको बताइएको छ।
निरन्तर वर्षा भइरहेकाले आगामी तीन दिनमा तालको जलस्तर थप बढ्ने र सेप्टेम्बर १ आसपास उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ। ताल फुटेमा केरुङ बन्दरगाहसहित तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने चेतावनी दिइएको छ।
चिनियाँ आपत्कालीन तथा इन्जिनियरिङ टोलीले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेका छन्। उद्धारकर्मीहरूले बेपत्ताको खोजीका लागि ड्रोन, थ्रीडी प्रविधि र तापीय क्यामेराको प्रयोग गरिरहेका छन्।
शुक्रबारसम्म प्रकोप प्रभावित क्षेत्रबाट ४९९ चिनियाँ नागरिक र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्