२०८३ भदौ १५, सोमवार

बाढीपीडितलाई खाना खुवाउँदै दुर्गेश थापा नुवाकोटमा

देशका विभिन्न ठाउँमा बाढीपहिरोले जनजीवन प्रभावित भइरहेका बेला गायक दुर्गेश थापा राहत तथा सहयोगमा जुटेका छन्। उनी दुई दिनदेखि नुवाकोटको विदुर नगरपालिका–८, कोलनीमा बसेर बाढीपीडितका लागि खाना पकाउने र खुवाउने काममा सक्रिय छन्।

रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थानीय बासिन्दासँग मिलेर थापा र उनको टोलीले खाना खुवाइरहेको हो। विपत्तिको समयमा पीडितलाई सहयोग गर्न आफू नुवाकोट आएको थापाले बताएका छन्।

सामाजिक सञ्जालमा खाना पकाउँदै र खुवाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै उनले ठूलो सहयोग गर्न नसके पनि भोकाएका व्यक्तिलाई एक छाक खाना खुवाउनु पनि महत्वपूर्ण सेवा भएको बताएका छन्।

बाढीपहिरोका कारण प्रभावित नागरिकलाई तत्काल राहत आवश्यक भइरहेका बेला थापाले स्थानीयसँग सहकार्य गर्दै सहयोग अभियानलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्