२०८३ भदौ १५, सोमवार

किएभनजिक रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आ-क्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। गोदाममा गोला-बारुद र बारुदी सुरुङ भण्डारण गरिएको थियो।

बुचा जिल्लाको माइला गाउँमा शुक्रबार राति भएको आक्रमणपछि भएको वि-स्फोट र आगलागीले कम्तीमा ५० आवासीय भवनमा क्षति पुगेको छ। मृत्यु हुनेमध्ये ३४ जना वृद्ध तथा अपाङ्गता भएका व्यक्तिको स्याहार केन्द्रका बासिन्दा रहेको बताइएको छ। घटनापछि ३७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मानिसको बस्ती नजिकै गोलाबारुद भण्डारण गर्नु ‘भयानक लापरबाही’ भएको भन्दै घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको बताएका छन्।

रुसको रक्षा मन्त्रालयले भने लामो दूरीका ड्रोनका सामग्री र प्रक्षेपण उपकरण भण्डारण गरिएको गोदामलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ।

यसैबीच, दक्षिणी खेरसन क्षेत्रमा रुसी आक्रमणमा दुई जनाको मृत्यु र एक बालबालिकासहित २७ जना घाइते भएका छन्। रुसले शनिबार राति युक्रेनबाट प्रहार गरिएका ३१३ ड्रोन नष्ट गरेको दाबी गरेको छ भने युक्रेनी ड्रोन आक्रमणमा रोस्तोभ क्षेत्रमा ११ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्