२०८३ भदौ १६, मङ्लबार

गोरखामा पहिरोले कालीगण्डकी थुनिएको हल्ला गलतः जिल्ला प्रशासन

गोरखाको चुमनुव्री गाउँपालिकास्थित छेकम्पार क्षेत्रमा पहिरो गएको भए पनि कालीगण्डकी नदी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुम क्षेत्रमा पहिरो गएको पुष्टि भए पनि त्यसका कारण नदी थुनिएको छैन। करिब ३ हजार ५०० मिटरको उचाइमा रहेको चुमनुव्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा पहिरो गएको उनले जानकारी दिए।

‘पहिरो गएको हो, नदी थुनिएको हल्ला सत्य होइन,’ शर्माले भने। उनका अनुसार पहिरोबारे थप विवरण संकलन गर्ने काम भइरहेको छ।

यसैबीच, छेकम्पारको चौरी खर्क क्षेत्रमा ठूलो पहिरो गएर चुमबाट बग्ने बूढीगण्डकी नदी थुनिएको भन्ने हल्ला केही समयदेखि सामाजिक सञ्जालमा फैलिएको थियो।

चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार भने पहिरोका कारण केही समय नदी थुनिएको थियो। उनका अनुसार छेकम्पारस्थित चौरी खर्कमा पहिरो खस्दा बूढीगण्डकीको सहायक नदी स्यार खोला थुनिएको थियो। तर अहिले पानी पुनः बग्न थालेको उनले जानकारी दिए।

स्थानीय प्रशासन तथा गाउँपालिकाले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्