२०८३ भदौ २५, बिहिबार

पोखरामा ट्रकको ठक्करबाट २५ वर्षीय मोटरसाइकल चालकको मृत्यु

पोखरा महानगरपालिका–१० बुद्धचोकमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ निवासी २५ वर्षीय नवराज दर्जी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसो १२ः५० बजे पृथ्वी राजमार्गअन्तर्गत पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई बुद्धचोकमा ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दर्जीलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा चिकित्सकले दिउँसो २ः२२ बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक र चालक सिन्धुलीको कमलामाई नगरपालिका–८ निवासी ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्