इजरायल र हमासबीच युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन। पछिल्ला दुई दिनमा भएका विभिन्न आक्रमणमा प्रहरी अधिकारीसहित कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अल अक्सा अस्पतालका अनुसार बुधबार मध्य गाजामा भएको हवाई आक्रमणमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। त्यसअघि मंगलबार उत्तरी गाजाको जबलिया शरणार्थी शिविरस्थित प्रहरी चौकीमा भएको आक्रमणमा छ जना प्रहरी अधिकारी र एक महिलासहित धेरैको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
दक्षिणी सहर खान युनुसस्थित टेन्ट शिविरमा भएको अर्को बम विस्फोटमा एक जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ। त्यस्तै, रफाहबाहिरको मुवासी क्षेत्रमा इजरायली सैनिकको गोली लागेर एक बालकको मृत्यु भएको अस्पताल अधिकारीहरूले बताएका छन्।
इजरायली सेनाले मध्य तथा दक्षिणी गाजामा भएका पछिल्ला आक्रमणबारे तत्काल प्रतिक्रिया दिएको छैन। जबलियाको घटनाबारे भने सेनाले मारिएका प्रहरीमध्ये चार जना हमासका लडाकू रहेको दाबी गरेको छ। यद्यपि, उनीहरू सैन्य गतिविधिमा संलग्न रहेको प्रमाण सार्वजनिक गरिएको छैन।
हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार मृतकमध्ये कर्नेल मोहम्मद मारवान सलेम जबलिया प्रहरी चौकीका प्रमुख तथा वरिष्ठ प्रहरी कमान्डर थिए। हमासले गाजामा नागरिक प्रहरी तथा सुरक्षा निकाय सञ्चालन गर्दै आएको छ।
इजरायली सेनाले सैन्य प्रयोजनमा प्रयोग भएका वा सशस्त्र गतिविधिमा संलग्न व्यक्तिहरू रहेको प्रहरी चौकीलाई वैध सैन्य लक्ष्य मान्ने नीति दोहोर्याउँदै आएको छ। तर जबलियास्थित प्रहरी चौकीमा त्यस्तो गतिविधि भएको प्रमाण भने सार्वजनिक गरेको छैन। हमासले उक्त प्रहरी बलले कानून–व्यवस्था कायम गर्ने जिम्मेवारी मात्रै निर्वाह गरिरहेको दाबी गरेको छ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले पनि गाजामा प्रहरीमाथि भइरहेका इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ। कार्यालयका अनुसार सन् २०२६ मा मात्रै प्रहरी कर्मचारीमाथि कम्तीमा एक दर्जन आक्रमण भएका छन्।
गत अक्टोबरमा लागू भएको युद्धविरामले दुई वर्षदेखि जारी युद्ध रोक्ने प्रयास गरे पनि गाजामा छिटपुट हिंसा जारी छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता मात्रै कम्तीमा १ हजार १२३ जनाको मृत्यु भइसकेको छ।
इजरायलले युद्धविरामपछि पनि हमासका लडाकूबाट आफ्ना सैनिकमाथि आक्रमण भइरहेको भन्दै त्यसको जवाफस्वरूप सैन्य कारबाही जारी राखिएको जनाएको छ। युद्धविरामपछि हालसम्म पाँच इजरायली सैनिक मारिएको बताइएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा दक्षिणी इजरायलमा करिब १ हजार २०० जनाको मृत्यु हुनुका साथै २५१ जनालाई बन्धक बनाएपछि युद्ध सुरु भएको थियो। त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा युद्धविरामपछिका मृतकसमेत गरी ७३ हजार २६४ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्