२०८३ भदौ २५, बिहिबार

बिर्तामोडबाट अनलाइन बेटिङ गराउने आरोपमा तीन जना पक्राउ

झापाको बिर्तामोडबाट गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बिर्तामोड–४ का ४१ वर्षीय किरण कान्दङ्वा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईँ रहेका छन्। प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग भएको आशंका गरिएका विभिन्न विद्युतीय उपकरणसमेत कानुनबमोजिम बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जना लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेल खेलाउने कार्यमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्