२०८३ भदौ २८, आइतवार

युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट

सन्दीप बने एसीसी प्रिमियर कपको उत्कृष्ट खेलाडी

नेपालले युएई पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यो जितसँगै नेपाल २०२७ को एशिया कपमा छनौट भएको छ । नेपालले युएईलाई ४४ रनले पराजित गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.२ ओभरमा अल आउट हुदै २६९ रन बनाएको हो ।

युएईका लागि राहुल चोपडाले १०० रन बनाएका थिए भने सोहैब खानले ५२, तनिश पुरीले ४२ रन र हरप्रीत सिंहले ३३ रन बनाएका थिए । यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेलेका थिए भने गुलशन झाले अर्धशतक बनाउदै ५२ रन बनाएका थिए । त्यसैगरी, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दिपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ रन बनाए भने इशान पाण्डेले १३ रन बनाएका थिए ।

त्यस्तै युएईका बलर इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए । यो जितपछि नेपालले २०२७ को जुनमा बंगलादेशमा हुने एशिया कपमा छनौट भएको छ । एशिया कपका लागि आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै छनौट भएका छन् ।

सन्दीप बने एसीसी प्रिमियर कपको उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज बनेका छन् । सन्दीपले प्रतियोगिताका ६ खेलमा सबैभन्दा बढी १७ विकेट लिएका थिए । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् । सन्दीपले बहराइन विरुद्ध ५ विकेट लिएका थिए भने, मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३, हङकङ चाइनाविरुद्ध ४, ओमानविरुद्ध ३ तथा फाइनलमा युएईविरुद्ध १ विकेट लिएका थिए । त्यस्तै फाइनलमा शतकीय पारी खेलेर नेपालको जितको आधार बनाएका ओपनर आसिफ सेख फाइनल खेलको प्लेयर अफ द म्याच बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्