रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका पर्यटकहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार बेपत्ता विदेशीमध्ये २६९ पुरुष, ३२९ महिला र नौ जनाको लिङ्ग खुल्न सकेको छैन। बेपत्ता हुने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतका १८९ जना छन्। त्यसपछि अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, अस्ट्रेलियाका ३३, लाटभियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० जना छन्।
यसैगरी जापानका पाँच, दक्षिण कोरियाका नौ, सिंगापुरका नौ, जर्मनीका आठ, रसियाका छ, दक्षिण अफ्रिकाका छ, न्युजिल्यान्डका पाँच, फ्रान्सका चार, काजकिस्तानका तीन तथा बेलारुस, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, बेल्जियम, इस्टोनिया र अन्य विभिन्न मुलुकका नागरिक पनि बेपत्ता सूचीमा छन्।
१८८ नेपाली पर्यटक पनि बेपत्ता
भोटेकोशी बाढीमा नेपालका १८८ पर्यटकसमेत बेपत्ता भएको विभागले जनाएको छ। बेपत्ता नेपालीमा १६१ पुरुष र २७ महिला छन्। उनीहरू कैलाश मानसरोवर तथा गोसाइँकुण्ड भ्रमणमा गएका वा विदेशी पर्यटकका सहयोगीका रूपमा रहेका नेपाली भएको विभागले जनाएको छ।
यससँगै बाढीपछि सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारलाई सुरक्षा निकाय र स्थानीय प्रशासनले तीव्र बनाएका छन्। विभागका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ। उद्धार हुनेमा २५८ पुरुष र ५२ महिला छन्।
त्यस्तै, बाढीपछि सम्पर्कविहीन भएका थप १३ जना सम्पर्कमा आएका छन्। उनीहरूमा तीन पुरुष, नौ महिला र एक जना अन्य छन्।
बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता पर्यटकको खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको विभागले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्