२०८३ अशोज ८, बिहिबार

बैंकिङ क्षेत्र अप्ठ्यारोमा परे पनि डुब्ने स्थितिमा छैन : मनोज गोयल

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महासचिव मनोज गोयलले बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा भए पनि उठ्नै नसक्ने स्थितिमा नरहेको बताएका छन्।

काठमाडौँमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गोयलले बैंकिङ क्षेत्र अहिले केही समस्यामा देखिए पनि त्यो ज्वरो आएजस्तो मात्र भएको र समयमै उपचार गरेर समाधान गर्न सकिने स्पष्ट पारेका हुन्।

देशमा व्याप्त आर्थिक मन्दी, बजारमा मागको संकुचन र प्राकृतिक विपद्का कारण बैंकहरू संकटमा परेको भन्ने चर्चा भइरहेका बेला उनले यस्तो धारणा राखेका हुन्। नेपाली अर्थतन्त्रमा कुनै ठूलो संरचनात्मक क्षति नभएको दाबी गर्दै उनले विगतमा उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी हुन नसक्नु र युवा श्रम शक्ति पलायन हुनुका कारण बजार शिथिल बनेको बताए। बजारमा बैंकहरू डुब्न लागे वा अब सुध्रिनै नसक्ने भए भनेर फैलाइएको भाष्य गलत भएको बताउँदै उनले यस्ता नकारात्मक हल्लाले समग्र अर्थतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिए।

कार्यक्रममा उनले वित्तीय क्षेत्रको सुधारका लागि नीतिगत र कानूनी स्पष्टता आवश्यक रहेको औँल्याए। नेपाल राष्ट्र बैंक ऐनमा सञ्चालकहरूको योग्यता, उमेर हद र कारबाहीसम्बन्धी व्यवस्था व्यावहारिक बनाउनुपर्ने उनको माग थियो। सानोतिनो प्राविधिक त्रुटिमै सचेत गराउँदा पनि पद नै खारेज हुने त्रासको माहौलमा बैंक सञ्चालकहरूले काम गर्न नसक्ने भन्दै उनले त्यस्ता प्रावधान तत्काल सच्याउन आग्रह गरे।

यसैगरी, बैंकहरूको खराब कर्जा बढ्नुमा बैंकहरूको कमजोरी नभई समग्र अर्थतन्त्रको मन्दी मुख्य कारण रहेको उनले दाबी गरे।

प्रतिक्रिया लेख्नुहोस्