२०८३ अशोज १७, शनिबार

महाधिवेशनलाई ‘नीति चयन’ मा केन्द्रित गर्ने कांग्रेसको तयारी

१० हजार प्रतिनिधिको आवास व्यवस्थापन

कांग्रेसले १५औँ राष्ट्रिय महाधिवेशनलाई नेतृत्व चयनसँगै नीति निर्माणमा केन्द्रित गर्ने तयारी गरेको जनाएको छ। महाधिवेशनस्थल खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेतृत्व चयनमा सीमित नराखी आगामी राजनीतिक, आर्थिक तथा समसामयिक नीतिबारे निर्णय गर्ने थलोका रूपमा अघि बढाउने प्रयास भइरहेको बताए।

उनका अनुसार उद्घाटनपछि सुरु हुने बन्द सत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा विभिन्न समसामयिक प्रतिवेदन पेस गरिनेछ। सभापतिले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। विधान संशोधनसम्बन्धी प्रस्तावमा पनि महाधिवेशनले निर्णय गर्नेछ। उम्मेदवारी दर्ता सुरु हुनुअघि विधान संशोधन प्रस्तावमाथि छलफल गरी निर्णय गरिने र पद थपघट वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलमै रहने प्रवक्ता चालिसेले बताए।

नेतृत्व चयनका लागि मतपत्रबाट निर्वाचन हुने कांग्रेसले जनाएको छ। उम्मेदवारी मनोनयन दर्ता असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म गर्ने कार्यतालिका रहेको छ। त्यसअघि नै विधान संशोधनको प्रक्रिया पूरा गर्ने तयारी गरिएको छ। महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि काठमाडौँ आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ। प्रतिनिधिका लागि रु. ३ हजार ५०० दर्ता शुल्क तोकिएको छ। पार्टीका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको छ र कार्यक्रम असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

१० हजार प्रतिनिधिको आवास व्यवस्थापन

महाधिवेशनमा सहभागी हुन काठमाडौँ आएका प्रतिनिधि तथा शुभेच्छुकका लागि विभिन्न क्षेत्रमा होटल व्यवस्थापन गरिएको छ। आइतबारदेखि सुरु हुने महाधिवेशनलाई लक्षित गरी गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रमा होटल बुकिङ गरिएको हो।

केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकलाई लक्षित गरी पाँच हजार कोठाको व्यवस्था गरिएको छ। नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले प्रतिनिधिका लागि सहुलियत दरमा आवासको प्रबन्ध मिलाइएको जानकारी दिए।

प्रदेशअनुसार प्रतिनिधिहरूको बसोबास पनि छुट्टाछुट्टै क्षेत्रमा मिलाइएको छ। कोशी र मधेस प्रदेशका प्रतिनिधिका लागि गौशाला तथा कोटेश्वर, बागमतीका लागि लाजिम्पाट र ठमेल तथा गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क क्षेत्रमा होटल व्यवस्थापन गरिएको छ। कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिका लागि सुन्धारा र कलङ्की क्षेत्रमा आवासको प्रबन्ध गरिएको छ।

विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा बसोबासको व्यवस्था गरिएको छ। जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने महाधिवेशन प्रतिनिधिले भने आवास तथा होटलको खर्च आफैँ व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले बेहोर्ने केन्द्रीय सदस्य धमलाले बताए।

महाधिवेशन अवधिभर प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ। आवाससम्बन्धी समस्या आएमा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घमार्फत सहजीकरण गरिने जनाइएको छ। कांग्रेसले आफ्नो वेबसाइटमार्फत होटलको नाम, क्षेत्र र शुल्कसम्बन्धी विवरणसमेत सार्वजनिक गरेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्