२०८३ अशोज २१, बुधबार

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरेको छ ।

बैंकले नबिल एसएसई फेलोसिपको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको हो । सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्ने उद्यमशील सोच भएका १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुनेछ । जसको अवधि ६ महिना रहने बैंकले जनाएको छ । बैंकका अनुसार छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति जनाउनुपर्ने छ । त्यस्तै, तीन महिनाको सर्टिफिकेट कोर्स विद्यार्थी, प्रारम्भिक चरणका उद्यमी तथा सूक्ष्म एवं साना व्यवसायीलाई लक्षित गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा सहभागीले उद्यम विकास तथा विस्तारका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धिको अवसर पाउनेछन् । व्यवसायिक अवधारणा विकास, उद्यम व्यवस्थापन, व्यवसाय मोडल निर्माण, व्यवहारिक सिकाइ, विशेषज्ञबाट मार्गदर्शन, सफल उद्यमीसँग अन्तरक्रिया तथा व्यावहारिक अनुभवसमेत कार्यक्रमका प्रमुख पक्ष रहेका छन् ।

बैंकका अनुसार सन् २०२१ देखि सञ्चालनमा रहेको नबिल एसएसईबाट हालसम्म १ हजार ५८० भन्दा बढी सहभागी लाभान्वित भइसकेका छन् । कार्यक्रमका सहभागीले ३१८ वटा उद्यम स्थापना गरेको र १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दाबी छ ।

इच्छुक नागसरकले नबिल बैंकको वेबसाइट www.nabilbank.com मा गई नबिल स्कुल अफ इन्टरप्रेनरसीप सेक्सनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन असोज २६ गते अर्थात् अक्टोबर १२, २०२६ सम्म दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्