प्राकृतिक सौन्दर्य, उच्च पहाडी पाटन, तालतलैया र जैविक विविधताले भरिपूर्ण अछामको रामारोशनमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ । तर पर्यटकको संख्या बढ्दै गए पनि सडक, सञ्चार, आवास र खानेपानीलगायत आधारभूत पूर्वाधारको विकासले अपेक्षित गति लिन सकेको छैन ।
समुद्री सतहदेखि करिब २ हजार ५० मिटरदेखि ३ हजार ७९२ मिटरसम्मको उचाइमा फैलिएको रामारोशन ‘बाह्र बण्ड, अठार खण्ड’ का नामले पनि परिचित छ । यहाँ १२ वटा ताल र १८ वटा ठूला पाटन तथा मैदान छन् । करिब ५२ बिघामा फैलिएको किनेमिने मैदान रामारोशन क्षेत्रकै ठूला मैदानमध्ये एक मानिन्छ । मैदानको बीचबाट कैलाश खोला बग्छ ।
रामारोशनका १२ तालमा सुनिवन, गेराहा–जिंगले, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे, रामे, ताउलो, डउटे र दल्लेना रहेका छन् । पर्यटन समितिको विवरणअनुसार जिंगाले ताल तीमध्ये सबैभन्दा ठूलो हो । किनेमिने, रोशनलगायत १८ वटा पाटनले क्षेत्रको प्राकृतिक आकर्षण थपेका छन् ।
स्थानीय धार्मिक विश्वासअनुसार यहाँ शिव–पार्वतीको बासस्थान रहेको मानिन्छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताका कारण रामारोशनलाई सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ ।
पछिल्ला वर्षमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट रामारोशनको प्रचार बढेसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको स्थानीय बताउँछन् । तर पर्यटकहरु आउनका लागि मुजाबगरदेखि रामारोशनसम्मको सडक अझै प्रमुख चुनौतीका रूपमा रहेको छ । वर्षायाममा पहिरो तथा खोला बढ्दा सडक अवरुद्ध हुने र कतिपय पर्यटक बाटोबाटै फर्किनुपर्ने अवस्था आउने गरेको स्थानीयको भनाइ छ ।
सडक निर्माण वर्षौंदेखि अधुरो रहेको उनीहरू बताउँछन् ।







प्रतिक्रिया लेख्नुहोस्