२०८३ अशोज २२, बिहिबार

पर्यटन बोर्डको बजेट बढ्यो, डिजिटल प्रचारमा ५ करोड

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड ७५ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा बोर्डको बजेट १ अर्ब २० करोड ८९ लाख ६४ हजार ७१४ रुपैयाँ थियो ।

बोर्डले यस वर्ष पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिँदै डिजिटल प्रवर्द्धनका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । यसअन्तर्गत फोटो, भिडियो तथा अन्य प्रचार सामग्री उत्पादन तथा खरिद, डिजिटल सामग्री बैंक तथा भण्डारण प्रणाली विकास र नेपाली प्रभावशाली व्यक्ति, कलाकार तथा सामग्री सिर्जनाकर्तासँग सहकार्य गर्ने कार्यक्रम समेटिएका छन् ।

त्यस्तै, विदेशी सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति तथा सामग्री सिर्जनाकर्तालाई नेपाल भ्रमण गराउने परिचयात्मक भ्रमणका लागि ३ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

बोर्डको जनसम्पर्क तथा प्रचारप्रसार महाशाखाका लागि १३ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ । यसअन्तर्गत प्रचार सामग्री प्रकाशन, डिजिटल प्रवर्द्धन, बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट, सिनेमा पर्यटन तथा अन्तर्राष्ट्रिय जनसम्पर्क र सञ्जाल विस्तारका कार्यक्रम सञ्चालन गरिनेछन् ।

पर्यटन व्यवसायी तथा जनशक्तिको क्षमता विकासका लागि तालिम तथा जनशक्ति विकासतर्फ १६ करोड ३४ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । यसअन्तर्गत डिजिटल प्रविधि, आतिथ्य सेवा, भाषा, पर्यटक गाइड, मौलिक खाना, होमस्टे, उद्धार तथा प्राथमिक उपचारलगायतका तालिम सञ्चालन गरिनेछ ।

अनुसन्धान, योजना तथा अनुगमन महाशाखाका लागि २ करोड ४५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । यसअन्तर्गत पर्यटक आगमनको तथ्यांक संकलन तथा विश्लेषण, पर्यटन स्याटेलाइट एकाउन्ट, पर्यटकीय सम्पदाको अध्ययन, स्थलमार्गबाट आउने भारतीय पर्यटकको सर्वेक्षण तथा जलवायु परिवर्तन र पर्यटनसम्बन्धी अध्ययन गरिनेछ । नयाँ पर्यटन व्यवसायका लागि स्टार्टअप सहयोग कार्यक्रमसमेत समेटिएको छ ।

पर्यटन बोर्डले प्रदेशगत संरचना विस्तार गर्ने योजना पनि अघि सारेको छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रादेशिक तथा अन्य कार्यालय स्थापना र सञ्चालनका लागि कुल ४ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । पाँच प्रदेशमा नयाँ कार्यालय स्थापनाका लागि मात्रै ३ करोड ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यस्तै, पर्यटन सम्पदा तथा संसाधन विकासतर्फ भारतसँग जोडिएका प्रमुख नाकामा सूचना केन्द्र स्थापना, पर्यटकमैत्री पूर्वाधार, संकेत तथा क्यूआर कोड, पदमार्ग संरक्षण, पर्यटक घर, सांस्कृतिक केन्द्र तथा संग्रहालय, प्रादेशिक पर्यटन मार्ट, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धन र एडभेन्चर ट्राभल मार्टलगायतका कार्यक्रम समेटिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्