२०८३ अशोज २५, आइतवार

बूढीगण्डकीको बाढीले सोतीको मोटरेबल पुल र ३५ घर बगायो बगायो

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति पुर्‍याएको छ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेको थियो। चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको उनले बताइन्। बाढीको जोखिम बढेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका थिए।

बूढीगण्डकीको बाढीले सोतीमा रहेको मोटरेबल पुलसमेत बगाएको छ। आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले पुल बगाएको र सोती बजार क्षेत्र डुबानमा परेको जानकारी दिएका छन्। उनका अनुसार जगत् र बगर क्षेत्रमा घरसमेत बगाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै चुमनुब्रीसँगै धार्चे गाउँपालिका र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सतर्क रहन भनिएको छ।

आरुघाट गाउँपालिका अध्यक्ष गुरुङका अनुसार बाढी आरुघाट क्षेत्र पार गरिसकेको छ। जोखिमबाट बच्न स्थानीय बासिन्दा आरुघाटभन्दा माथिको आरुटार क्षेत्रमा पुगेका छन्।

यसैबीच, निम्लुङ खोलामा ठूलो पहिरो खसेर नदी थुनिने र फेरि खुल्ने क्रम जारी रहेको जानकारी प्राप्त भएको अध्यक्ष गुरुङले बताएका छन्। यस्तो अवस्थाले नदीको बहावमा थप जोखिम निम्त्याउन सक्ने भएकाले आसपासका बस्तीमा सतर्कता अपनाइएको छ।

हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको जनाइएको छ। घर, पुल तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। बाढीको जोखिम कायम रहेकाले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई पालना गर्न आवश्यक छ।

प्रतिक्रिया लेख्नुहोस्