प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन्।
बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गराउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको बताएका हुन्।
विजयादशमीलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा स्मरण गर्दै उनले समाजमा रहेका नकारात्मक प्रवृत्ति अन्त्य गर्न सोचसँगै व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन्।
‘आजको दिनमा आसुरी प्रवृत्तिका रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।’
दुर्गा भवानीले आसुरी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको पौराणिक प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
नेपालको भौगोलिक, सांस्कृतिक र भाषिक विविधतालाई देशको विशेषताका रूपमा उल्लेख गर्दै उनले दसैँले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने बताएका छन्।
प्रधानमन्त्री शाहले आ–आफ्नो क्षमताअनुसार सद्भाव, एकता, सम्मान र माया साटासाट गर्दै पर्व मनाउन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई अपिलसमेत गरेका छन्।
उनको शुभकामना सन्देशले दसैँलाई धार्मिक तथा सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी सामाजिक विकृति अन्त्य, सुशासन, समानता र नागरिकप्रतिको राज्यको जिम्मेवारीसँग जोडेको छ।






प्रतिक्रिया लेख्नुहोस्