२०८३ कार्तिक १२, बुधबार

कामना सेवा विकास बैंकको नाफा र प्रतिसेयर आम्दानी बढ्यो

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशत बढी हो।

बैंकले गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकको खुद नाफा ३ करोड ३५ लाख ७१ हजार रुपैयाँले बढेको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यो १.४३ प्रतिशतको वृद्धि हो।

असोज मसान्तसम्ममा बैंकले ११ करोड २ लाख ३६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ र सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ पुगेको छ। यसअनुसार बैंकको लाभांश क्षमता १५.७६ प्रतिशत रहेको छ।

बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित छ।

निक्षेप संकलन र कर्जा लगानीतर्फ पनि बैंकले वृद्धि गरेको छ। गत असोज मसान्तसम्ममा बैंकले ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ र कर्जा लगानी ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ रहेको थियो। यसअनुसार बैंकको निक्षेप २.६० प्रतिशत र कर्जा लगानी ३.९५ प्रतिशतले बढेको हो।

बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २० रुपैयाँ ४६ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आवको समीक्षा अवधिमा बढेर २३ रुपैयाँ १३ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात २०.५८ गुणा रहेको छ।

यसैगरी, बैंकले खराब कर्जा अनुपात (एनपीएल) घटाउन सफल भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ४.४१ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ।

खराब कर्जा घटेसँगै बैंकको कर्जा नोक्सानी व्यवस्थासम्बन्धी इम्पेरिमेन्ट चार्ज पनि कम भएको छ। गत वर्षको पहिलो त्रैमासमा ११ करोड ६ लाख रुपैयाँ रहेको यस्तो चार्ज चालु आवको समीक्षा अवधिमा घटेर ४ करोड ९४ लाख रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया लेख्नुहोस्