२०८३ कार्तिक १२, बुधबार

नबिल बैंकले ल्याउँदैछ १० वर्षे ऋणपत्र

नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र जारी गर्ने प्रस्तावसहित बोर्डमा आवेदन दिएको हो।

बैंकले असोज २८ गते अनुमति माग्दै आवेदन दिएको जनाएको छ। प्रस्तावित ऋणपत्रको अवधि १० वर्ष रहनेछ भने यसमा लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन्।

बैंकले कुल ४० लाख कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निजी तवरबाट बिक्री गर्नेछ। बाँकी १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपछि बैंकले ऋणपत्र निष्कासन प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया लेख्नुहोस्