२०८३ कार्तिक १२, बुधबार

कृषि विकास बैंक र डिसहोमको डिजिटल सुविधा, एपबाटै सेवा नवीकरण

कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपबाटै डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सक्ने भएका छन्। यस सुविधाले ग्राहकलाई घरमै बसेर सहज र झन्झटरहित रूपमा इन्टरनेट तथा टेलिभिजन सेवाको नवीकरण गर्न सहयोग पुग्नेछ।

नयाँ सुविधाअन्तर्गत ग्राहकले डिसहोम इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टेलिभिजनको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा नवीकरण गर्न सक्नेछन्।

यस सुविधाले सेवा नवीकरणका लागि कार्यालय वा सेवा केन्द्रमा पुग्नुपर्ने झन्झट कम गर्नुका साथै डिजिटल भुक्तानीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

डिसहोमले ग्राहकलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमबाट पनि ग्राहकले आफ्ना डिसहोम सेवा नवीकरण गर्न सक्नेछन्।

डिजिटल माध्यमबाट सेवा नवीकरणका विकल्प विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार भुक्तानीको माध्यम छनोट गर्न सहज बनाउने प्रयास भइरहेको डिसहोमले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्