२०८३ कार्तिक १२, बुधबार

तीन महिनामै ६ खर्ब ४६ अर्बको आयात, व्यापार घाटा ५ खर्ब ३२ अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्म आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटा भने ५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात भएको थियो। यससँगै आयात ३८.१८ प्रतिशतले बढेको छ।

यस अवधिमा निर्याततर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च देखिए पनि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५.०२ प्रतिशत मात्रै छ। यसको विपरीत आयातको हिस्सा ८४.९८ प्रतिशत रहेको छ। यसले नेपालको वैदेशिक व्यापार अझै आयातमा निर्भर रहेको देखाउँछ।

व्यापार घाटा ३४.७१ प्रतिशतले बढ्यो

आयात र निर्यातबीचको अन्तर बढ्दै जाँदा नेपालको व्यापार घाटासमेत वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो। यसरी एक वर्षको अवधिमा व्यापार घाटा करिब १ खर्ब ३७ अर्ब रुपैयाँले बढेको छ।

यस अवधिमा आयात–निर्यात अनुपात भने ६.४३ बाट घटेर ५.६६ मा झरेको छ। निर्यातको वृद्धिदर आयातभन्दा बढी भएकाले अनुपातमा सुधार देखिए पनि आयातको कुल आकार ठूलो हुँदा व्यापार घाटा उच्च रहेको छ।

समग्र तथ्याङ्कले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार विस्तार भएको देखाए पनि निर्यातको तुलनामा आयातको हिस्सा निकै ठूलो रहेको पुष्टि गर्छ। निर्यात बढ्दै जानु सकारात्मक भए पनि व्यापार घाटा घटाउन स्वदेशी उत्पादन वृद्धि, प्रतिस्पर्धी वस्तुको निर्यात विस्तार र आयात प्रतिस्थापनमा जोड दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्