२०८३ कार्तिक १३, बिहिबार

टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो हटायो

छोटो भिडियो सेयरिङका लागि लोकप्रिय सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म)को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गरेको छ ।

नियम उल्लंघन गर्ने सामग्री र एकाउन्टमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गर्दै कम्पनीले सुरक्षित डिजिटल वातावरण निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । नेपालमा उच्च दरमा अटोमेटेड कारबाही प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपालबाट प्रकाशित भएकामध्ये २० लाख ३६ हजार १९१ वटा भिडियो नियम उल्लंघनका कारण हटाइएका छन् । यो नेपालमा सो अवधिमा अपलोड गरिएका कुल सामग्रीको ०.४ प्रतिशत हो । नेपालमा नियम उल्लंघन गर्ने सामग्री पहिचान र कारबाहीको दर उच्च देखिएको छ ।

टिकटकले ९९.५ प्रतिशत भिडियोहरू प्रयोगकर्ता वा सर्वसाधारणले उजुरी (रिपोर्ट) गर्नुअघि नै प्रणालीले पहिचान गरी हटाएको छ । यस्तै, ९२.३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्रै प्लेटफर्मबाट हटाइएका छन् । कम्पनीको आन्तरिक पुनरवलोकन तथा प्रयोगकर्ताको अपिलपश्चात् ३३ हजार ५०३ वटा भिडियो गल्तीवश हटाइएको ठहर गर्दै पुनर्स्थापना (रजिस्टोर) गरिएको छ । यस अवधिमा टिकटकले विश्वभरबाट कुल १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ, जुन विश्वव्यापी रूपमा प्लेटफर्ममा पोस्ट गरिएका भिडियोको करिब ०.५ प्रतिशत हो ।

प्लेटफर्मको विश्वसनीयता जोगाउन टिकटकले एकाउन्ट र कमेन्टको स्तरमा पनि ठूलो परिमाणमा कारबाही चलाएको छ । जसमा फेक (नक्कली) एकाउन्ट १४ करोड ६८ लाख ७ हजार ४०० भन्दा बढी, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले सञ्चालन गरेको आशंकामा दुई करोड ६८ लाख ४० हजार ७६७ एकाउन्ट बन्द गरिएका छन् । गाइडलाइन्स उल्लंघन गरी अमर्यादित कमेन्ट गर्ने २७ करोड ८३ लाख ८४ हजार ४६३ भन्दा बढी कमेन्टहरू हटाइएका छन् ।

टिकटकको लाइभ फिचरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न नियमन प्रणालीलाई थप कडा पारिएको छ । प्रकाशित कुल लाइभ सामग्रीमध्ये २.४ प्रतिशत सामग्री निलम्बन गरिएको छ । यसैक्रममा टिकटकले सात करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र दुई करोड ६७ लाख ८१ हजार १३५ लाइभ क्रिएटरलाई चेतावनी दिएको छ वा उनीहरूको मनिटाइजेसन (आम्दानी गर्ने सुविधा) हटाएको छ । समीक्षापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनर्स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्