चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका निम्ति काठमाडौं ल्याउन लागिएको छ । इलाममा डा. केसी पाँच दिनदेखि अनशनरत छन् ।
लामो समयदेखि खानपान नगरेका कारण उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको चिकित्सकले बताएका छन् । २५औँ सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा रगतमा चिनीको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोन देखिएको र रक्तचाप समेत घट्दै गएको चिकित्सकले बताएका छन् ।
डा. केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चिकित्सकले आइतबार (कात्तिक १५) नै उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएका थिए । सोही सिफारिसअनुसार उनलाई थप उपचार र निरन्तर निगरानीका निम्ति हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको र जोखिम बढ्न सक्ने देखिएपछि उच्चस्तरीय स्वास्थ्य संस्थामा तत्काल लैजान सिफारिस गरिएको इलाम अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. महेश आचार्यले जानकारी दिए ।
उनले भने, “डा. केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको र उहाँको अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएको छ । स्वास्थ्य अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै थप उपचार र निरन्तर निगरानीका लागि सुविधासम्पन्न उच्चस्तरीय स्वास्थ्य संस्थामा तत्काल प्रेषण गर्ने सिफारिस गरिएको हो ।”
चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै डा. केसीले पटक–पटक सत्याग्रह गर्दै आएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्