डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये थप दुई कैदी बुधबार पक्राउ परेका छन्। फरार भएको पाँचौँ दिन बुधबार थप दुईजना पक्राउ परेसँगै नियन्त्रणमा आउने कैदीबन्दीको संख्या चार पुगेको छ। अझै चार जना कैदीबन्दी फरार छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बुधबार त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा स्थानीय कमला बुढाको घरमा लुकेर बसिरहेको अवस्थामा दुईजनालाई बुधबार पक्राउ गरिएको हो। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ निवासी २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ निवासी १९ वर्षीय कैलाश भन्ने कपिल परियार छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाकाअनुसार रोकाय जबर्जस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट आठ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। परियार चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए।
यसअघि मंगलबार रुकुम पश्चिम प्रहरीले फरार दुई कैदीलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित खोली बगरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० निवासी ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ निवासी २८ वर्षीय रेशम राना छन्। प्रहरीले उनीहरू दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी भएको जनाएको छ।
कात्तिक १४ गते बिहान करिब ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट आठ कैदीबन्दी फरार भएका थिए। घटना सार्वजनिक भएपछि फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न टोली परिचालन गरेको थियो। कारागारबाट एकैपटक आठ कैदीबन्दी सुरुङ खनेर फरार भएपछि प्रहरीले उनीहरूको खोजीलाई तीव्र बनाएको छ। फरार भएकामध्ये मंगलबार र बुधबार दुई–दुई जना पक्राउ परेका हुन्। पाँचदिनको अवधिमा आधा कैदीबन्दी पक्राउ परेपनि बाँकी चारजनाको अवस्था अझै अज्ञात छ।
प्रहरीले फरार रहेका अन्य कैदीबन्दीको खोजी तथा पक्राउका लागि अभियान जारी राखेको जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्