२०८३ कार्तिक २०, बिहिबार

सिजनकै खराब प्रर्दशन गरेको विराटनगगरलाई काठमाण्डूले ९ विकेटले हरायो

काठमाडौं दोस्रो स्थानमा, विराटनगर पाँचौँमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमै एक विकेट गुमाएर पूरा गरेको हो।

काठमाडौंको जितमा डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै २४ बलमा अविजित ४४ रन बनाए। उनलाई साथ दिएका विलियम बोसिस्टो २३ रनमा अविजित रहे। सहज लक्ष्य पछ्याएको काठमाडौंले एक विकेट मात्रै गुमाएर खेल आफ्नो पक्षमा पारेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटिएको थियो। विराटनगरका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन जोडे। विराटनगरको ब्याटिङ लाइनअपलाई रोक्ने क्रममा काठमाडौंका सन्तोष यादवले तीन विकेट लिए। करण केसी र सहान आराचचिगेले दुई–दुई तथा जहानदाद खान र देव शाहले एक–एक विकेट हात पारे।

यो जितसँगै काठमाडौं गोर्खाज तीन खेलमा दुई जितसहित चार अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगितामा पाँच खेल खेलेको विराटनगरको पनि चार अंक छ। तर, नेट रनरेटका आधारमा पछि पर्दै विराटनगर पाँचौँ स्थानमा झरेको छ। काठमाडौंका लागि यो जितले प्लेअफ यात्रामा महत्वपूर्ण अंक थपेको छ भने विराटनगरलाई अंकतालिकामा आफ्नो स्थान कायम राख्न आगामी खेलमा जित आवश्यक बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्