२०८३ कार्तिक २२, शनिबार

बीमा कोषमा उल्लेख्य वृद्धि, नेपाल लाइफको नाफामा गिरावट

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय विस्तारसँगै बीमाशुल्क आर्जन र लगानीबाट प्राप्त आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन १० प्रतिशतभन्दा बढीले बढेको छ भने जीवन बीमा कोषको आकार पनि १६.६९ प्रतिशतले विस्तार भएको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद बीमाशुल्क आर्जन १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यसअनुसार बीमाशुल्क आर्जन १०.०८ प्रतिशतले बढेको हो ।

कम्पनीको कुल आम्दानी पनि १०.३९ प्रतिशतले वृद्धि भई २० अर्ब २७ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ थियो ।

त्यस्तै, कर्जा तथा लगानीबाट प्राप्त आम्दानीमा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा यस्तो आम्दानी १४.३७ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले कर्जा तथा लगानीबाट ३ अर्ब ९३ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नेपाल लाइफको जीवन बीमा कोष पनि थप मजबुत बनेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ रहेको बीमा कोष चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ खर्ब ८६ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यो १६.६९ प्रतिशतको वृद्धि हो ।

कम्पनीको व्यवसाय विस्तारसमेत सकारात्मक देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म २० लाख २ हजार ३५७ वटा बीमालेख रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर २१ लाख ७९ हजार ८७१ पुगेको छ । यसले कम्पनीप्रति बीमितको पहुँच र व्यवसायको दायरा विस्तार भएको देखाउँछ ।

यसैगरी कम्पनीको महाविपत्ति कोषमा ०.८३ प्रतिशत र सञ्चित मुनाफामा १६.२१ प्रतिशतको वृद्धि भएको छ । कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड २ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

यद्यपि, व्यवसाय र आम्दानीका अधिकांश सूचकमा सुधार देखिए पनि कम्पनीको खुद नाफा भने गत वर्षको तुलनामा २८.७५ प्रतिशतले घटेर १५ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५५ पैसाबाट घटेर ६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्