२०८३ कार्तिक २२, शनिबार

लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान

यस वर्ष तिहारको लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले उक्त माग आन्तरिक उत्पादनबाटै सहज रूपमा पूरा हुने जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान छ। उक्त अवधिमा देशभित्रै विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको उनले जानकारी दिए।

आन्तरिक उत्पादन मागभन्दा बढी हुने भएकाले तिहार अवधिभर विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको अपेक्षा छ। विद्युत् माग र आपूर्तिको अवस्थालाई व्यवस्थित बनाउन प्राधिकरणले नियमित अनुगमन तथा व्यवस्थापकीय तयारीसमेत गरेको जनाएको छ। पर्व अवधिभर विद्युत् प्रणालीको अवस्थाबारे नियमित अनुगमन गर्न लोड डिस्प्याच सेन्टर (एलडीसी), ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिने कार्यकारी निर्देशक श्रेष्ठले बताए।

यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ।

त्यस्तै, विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्