कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको अन्तिम खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यो जितसँगै कर्णालीले तेस्रो सिजन छैटौँ स्थानमा रहँदै टुंग्याएको छ । टोलीले सातमध्ये तीन खेलमा जित र चार हार व्यहोर्यो ।
आइतबार (कात्तिक २९) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याएको चितवनले १९.२ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । चितवनलाई सस्तैमा रोक्न कर्णालीका हुसेन तलतले तीन विकेट लिए । पवन सर्राफ र मार्क वाटले समान दुई विकेट लिए । कप्तान सोमपाल कामीले एक विकेट लिए ।
चितवनका निम्ति उसमा मिरले अविजित २८ रन बनाए । दोस्रो इनिङमा कुनै पनि ब्याटरले बनाएको त्यो सर्वाधिक रन बन्यो । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । टोलीले पावर प्लेबाटै कमजोर सुरुआत गरेको थियो । टोलीले पावर प्लेमा तीन विकेट गुमाएर ४७ रन बनाएको थियो । २५ रन बनाएका ओपनर कमिल मिसराले मात्र सन्तोषजनक प्रर्दशन गरे । ५.६ ओभरमा कर्णालीका पवनको बलिङमा स्टम्पिङको सिकार भएपछि उनी पभेलियन फर्किए ।
मध्यक्रममा मार्की कुशल मल्लले टिमको प्रदर्शन उकास्ने प्रयास गरेका थिए । १८ रन बनाएका उनले समान एक चौका र छक्का प्रहार गरे । उनी पनि धेरै लामो समय क्रिजमा टिक्न सकेनन् । उनलाई कर्णालीका मार्क वाटले १२.४ ओभरमा एलबीडब्ल्यूको सिकार बनाए । अर्का ओपनर देव खनाले १४ रन जोडे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका अशोक धामीले ११ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सलाहुदिन खानले सात रन बनाए । विवेक यादवले ६, कप्तान शिकन्दर राजाले दुई, कमलसिंह ऐरी र रिजन ढकालले समान एक रन मात्र जोडे ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो । कर्णालीका निम्ति हुसेनले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । कर्णालीले पावर प्लेमा मध्यम सुरुआत गरे पनि मध्यक्रममा लय लिन सकेन । हुसेन क्रिजमा प्रवेश गर्दा टोलीले चार विकेट गुमाएर ५९ रन मात्र बनाएको थियो । उनले उक्त स्थितिबाट क्रिज सम्हाले र अविजित रहँदै ३३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । उनले सातौँ विकेटको निम्ति ६ रन बनाएका मार्कसँग २७ रनको साझेदारी गरे । १७.५ ओभरमा मार्क क्याच भएपछि उनीहरूबीचको साझेदारी तोडिएको थियो ।
एनपीएलमा हुसेनको यो पहिलो अर्धशतक हो । योसँगै उनी जारी सिजनमा अर्धशतक प्रहार गर्नै १७औँ ब्याटर बने । त्यो सिजनको २०औँ अर्धशतक बन्यो । ओपनर अरिफुल इस्लामले ३५ रन बनाए । गुल्सन झाले १८, पवनले १५ रन जोडे ।चितवनका निम्ति सलाहुदिन, कमलसिंह र उसमाले समान दुई विकेट लिए । रिजन ढकाल र सिकन्दरले समान एक विकेट लिए । योसँगै चितवनले चौथो स्थान हासिल गरेको छ । चितवनले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको थियो ।
अब चितवनले इलिमिनेटरमा काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयल्समध्ये एक टोलीसँग खेल्नेछ । चितवनले दोस्रोपटक एनपीएलमा इलिमिनेटरमा स्थान बनाएको हो । टोलीले पहिलो सिजनमा पनि इलिमिनेटरमा प्रतिस्पर्धा गरेको थियो ।








प्रतिक्रिया लेख्नुहोस्