कप्तान सन्दीप लामिछानेको कीर्तिमानी बलिङ र इसुरु उडानाको आक्रामक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ भने पोखरा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । पाँचौँ हारसँगै पोखरा एनपीएलबाट बाहिरिने पहिलो टोली बनेको हो ।
पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । विराटनगरका बसिर अहमदले सर्वाधिक ३७ रन बनाए भने लोकेश बमले ३३ रन जोडे । खेलको अन्त्यतिर इसुरु उडानाले १२ बलमा अविजित २५ र सेहान जयसूर्याले १४ बलमा अविजित १७ रन बनाउँदै टोलीलाई जित दिलाए ।
बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेल र रमेश मेन्डिसले समान २ विकेट लिए भने विपिन खत्रीले १ विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो । पोखराका युवराज साम्राले ४७ बलमा ८४ रनको उत्कृष्ट पारी खेले पनि उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । धनञ्जय लक्षनले २२ र सन्नी बीकेले १२ रन बनाए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । यो उनको टी–२० करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो । उनले एनपीएल इतिहासकै दोस्रो उत्कृष्ट बलिङ स्पेलसमेत दर्ता गरे । चरिथ असलङ्का, एन्जेलो म्याथ्युज र रूपेश सिंहले समान १ विकेट लिए।







प्रतिक्रिया लेख्नुहोस्