अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म ‘बाटुलो जून’ले प्रदर्शनको पहिलो सातामै सुपरहिटको ट्याग पाएको छ ।
कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले क्यूएफएक्सका हलबाट मात्रै २ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेपछि सुपरहिटको मान्यता पाएको हो ।
क्यूएफएक्सले आफ्ना हलबाट पहिलो दुई सातामा २ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने फिल्मलाई सुपरहिटको ट्याग दिने गरेको छ । यही मापदण्ड पूरा गर्दै ‘बाटुलो जून’ले पहिलो साता पूरा नहुँदै उक्त सफलता हासिल गरेको हो ।
फिल्मको आधिकारिक बक्स अफिस कमाइ भने सोमबार सार्वजनिक हुने जनाइएको छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना र लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ ।
विसं २०४० को दशकको नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित फिल्मले तत्कालीन समयको प्रेम, समाज र जीवनशैलीलाई प्रस्तुत गरेको छ । यही फिल्मबाट प्रिन्सी खतिवडाले अभिनेत्रीका रूपमा डेब्यू गरेकी हुन् ।
यसअघि रामबाबु गुरूङ निर्देशित फिल्म ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको तेस्रो दिनमै क्यूएफएक्सबाट सुपरहिटको ट्याग पाएको थियो। त्यस्तै, यसै वर्ष प्रदर्शनमा आएका ‘गौंथली’ र ‘पेन्सन पट्टा’ले दोस्रो सातामा मात्रै यो मान्यता पाएका थिए।








प्रतिक्रिया लेख्नुहोस्