२०८३ मंसिर ३, बुधबार

‘सिटिजन्स सुपर ५०’ म्युचुअल फन्डको इकाई निष्कासन खुला, अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष ‘सिटिजन्स सुपर ५०’ को इकाई निष्कासन तथा बिक्री आगामी मङ्सिर २ गतेदेखि खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट असोज ७ गते स्वीकृति पाएको १० वर्षे अवधिको यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ, जसलाई माग र आवेदनका आधारमा अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था छ ।

कुल कायम आकारको १५ प्रतिशत बीज पुँजीका रूपमा सिटिजन्स बैंक इन्टरनेसनलको लगानी रहने यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले छिटोमा मङ्सिर ७ र ढिलोमा मङ्सिर १६ गतेसम्म ‘मेरो शेयर’ तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् ।

उत्कृष्ट तथा लगानीयोग्य ५० वटा कम्पनीहरूको छनोट गरी ती कम्पनीहरूको सेयरमा विविधीकृत पोर्टफोलियो निर्माणमार्फत दीर्घकालीन प्रतिफल अभिवृद्धि गर्ने लक्ष्य यो योजनाले राखेको छ । इकाई बाँडफाँटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई दोस्रो बजारमा कारोबार गर्न सकिने यस योजनाले व्यक्तिगत रूपमा कम्पनीहरूको अध्ययन तथा लगानी व्यवस्थापन गर्न कठिनाइ हुने लगानीकर्तालाई विज्ञ व्यवस्थापकमार्फत सामूहिक लगानी गर्ने अवसर प्रदान गर्नेछ ।

इक्रा नेपालबाट ‘AMC Quality 3+’ रेटिङ प्राप्त सिटिजन्स क्यापिटलले यसअघि सञ्चालन गरेका सिटिजन्स म्युचुअल फन्ड–१ र २ बाट क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०.४० प्रतिशत प्रतिफल प्रदान गरिसकेकाले नयाँ योजनालाई समेत व्यावसायिक र व्यवस्थित ढङ्गले सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्