नेपालको स्वास्थ्य सेवा क्षेत्रमा सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको मिदास हेल्थ सर्भिसेजले नेपालमै पहिलो पटक ‘माइक्रोसर्भिसेस आर्किटेक्चर’मा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ । परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट आधुनिक प्रविधिमा फड्को मार्दै कम्पनीले नेपालको डिजिटल स्वास्थ्य सेवा रूपान्तरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ ।
कम्पनीका अनुसार स्वास्थ्य संस्थाहरूलाई यस्तो उन्नत प्रविधिमा आधारित एचएमआइएस उपलब्ध गराउने मिदास नेपालकै पहिलो तथा एकमात्र कम्पनी हो । २५ वर्षभन्दा बढीको अनुभवसहित हाल २५० भन्दा बढी केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज तथा निजी क्लिनिकहरूलाई सेवा दिँदै आएको मिदासले यस स्तरोन्नतिबाट अस्पतालको सूचना प्रणाली थप लचिलो, विस्तारयोग्य र भरपर्दो बन्ने विश्वास व्यक्त गरेको छ ।
किन विशेष छ माइक्रोसर्भिसेस आर्किटेक्चर ?
परम्परागत मोनोलिथिक संरचनामा अस्पतालका बिलिङ, फार्मेसी, बिरामी अभिलेख र प्रयोगशाला प्रतिवेदनलगायतका सबै सेवा एउटै ठूलो सफ्टवेयर संरचनाभित्र सञ्चालन हुन्छन् । जसका कारण कुनै एउटा विभागमा प्राविधिक समस्या आउँदा वा प्रणाली अद्यावधिक गर्दा अन्य सेवा समेत प्रभावित हुन सक्ने जोखिम रहन्छ ।
तर, नयाँ माइक्रोसर्भिसेस आर्किटेक्चरमा बिलिङ, फार्मेसी र बिरामी अभिलेखजस्ता सेवा छुट्टाछुट्टै मोड्युलका रूपमा स्वतन्त्र र आपसी समन्वयमा सञ्चालन हुन्छन् । यसले गर्दा कुनै एउटा मोड्युलमा सुधार वा अद्यावधिक गर्दा अन्य विभागको कामकाजमा असर पर्दैन । प्रणालीको निरन्तरता कायम राख्न, सेवा अवरोध न्यून गर्न र बिरामीको बढ्दो चापअनुसार निश्चित विभागको क्षमता सहजै विस्तार गर्न तथा नयाँ सुविधा छिटो थप्न यो प्रविधि प्रभावकारी हुने कम्पनीले जनाएको छ ।
प्रमुख अस्पतालहरूमा सफल कार्यान्वयन
मिदासले आफ्नो विद्यमान एचएमआइएस प्रणालीलाई स्तरोन्नति गरी नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, ह्याम्स हस्पिटल, फ्रन्टलाइन हस्पिटल, गण्डकी मेडिकल कलेज, लुम्बिनी सिटी हस्पिटल, भीम हस्पिटल, मणिपाल मेडिकल कलेज तथा हस्पिटल फर चिल्ड्रेन, आई, ईएनटी एण्ड रिह्याबिलिटेसन सर्भिसेज लगायतका प्रमुख स्वास्थ्य संस्थाहरूमा सफलतापूर्वक कार्यान्वयन गरिसकेको छ ।
यसैगरी, चरक मेमोरियल हस्पिटल, फिस्टेल हस्पिटल, तिलोत्तमा हस्पिटल, भरतपुर सामुदायिक हस्पिटल, सरोवर डायग्नोस्टिक सेन्टर, युरोलोजी किड्नी हस्पिटल, रिदम न्युरोसाइकियाट्री हस्पिटल, डीआई डेन्टल हस्पिटल तथा शियर मेमोरियल एड्भेन्टिस्ट हस्पिटलमा नयाँ प्रणाली सञ्चालनमा ल्याइसकिएको कम्पनीले जानकारी दिएको छ ।
हाल किस्ट मेडिकल कलेज टिचिङ हस्पिटल र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसहित अन्य बाँकी ग्राहक संस्थाहरूको प्रणाली स्तरोन्नति गर्ने प्रक्रिया अघि बढिरहेको जनाइएको छ ।
कार्यक्रमका सन्दर्भमा मिदास हेल्थ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अंकित भण्डारीले आफूहरूले केवल सफ्टवेयर उपलब्ध नगराई दीर्घकालीन साझेदारी निर्माण गर्ने गरेको बताए । “नेपालमा माइक्रोसर्भिसेस आर्किटेक्चर भित्र्याएर स्वास्थ्य संस्थाहरूलाई उनीहरूको आवश्यकतासँगै विकसित हुँदै जाने प्रणाली प्रदान गरिरहेका छौँ,” उनले भने, “अस्पतालहरूले बिरामीको उपचार सेवा तथा प्रशासनलाई अझ प्रभावकारी बनाउन भरपर्दो, कार्यकुशल र नवीन उपकरण प्राप्त गरून् भन्नेमा हामी प्रतिबद्ध छौँ ।”
आइएमई ग्रुपको मुख्य लगानी रहेको मिदास हेल्थ सर्भिसेज (यसअघि मिदास टेक्नोलोजिज प्रा. लि.) ले नेपालको ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थालाई एचएमआइएस सेवा प्रदान गर्दै आएको र यसबाट प्रत्यक्ष तथा परोक्ष रूपमा देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या लाभान्वित भइरहेको जनाएको छ ।








प्रतिक्रिया लेख्नुहोस्