२०८३ मंसिर ८, सोमवार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको छ। सोमबार बिहान आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए। काठमाडौंबाट भारत प्रस्थान गर्दा गार्ड अफ अनर नलिएका प्रधानमन्त्री शाहलाई भारतले भने औपचारिक राजकीय सम्मान दिएको हो।

राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान गारत प्रदान गरेको हो। आइतबार नयाँ दिल्ली पुगेका शाहलाई सोमबार बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा आजै भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्दैछन्। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा हुने भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य र आपसी हितका विषयमा छलफल हुने कार्यक्रम छ।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह सोमबार बिहान १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन्। त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा मोदीसँग भेटवार्ता हुनेछ। दुई प्रधानमन्त्रीबीचको भेटपछि बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ। त्यसक्रममा नेपाल–भारत सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ। दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त सञ्चार सम्बोधनको कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ। भारत भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यतालिका छ। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका थिए। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटवार्ता गरिसकेका छन्। उक्त भेटमा व्यापार, पारवहन, ऊर्जा, कनेक्टिभिटी, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्