२०८३ मंसिर ८, सोमवार

मोदीसँग द्विपक्षीय वार्ता र राष्ट्रपतिसँग शिष्टाचार भेटपछि आजै स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन

भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटवार्ता, प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय छलफल, परियोजना उद्घाटन तथा समझदारीपत्र आदानप्रदानलगायतका महत्वपूर्ण कार्यक्रममा व्यस्त रहनेछन् । प्रधानमन्त्री पदभार ग्रहण गरेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।

औपचारिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०ः४० बजे राजघाट पुगेर उनले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नेछन् । बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता हुनेछ । लगत्तै बिहान ११ः५० बजे दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच औपचारिक द्विपक्षीय वार्ता सुरु हुनेछ ।

वार्ताका क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन, भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण, ऊर्जा सहकार्य, सडक सञ्जाल, कृषि, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, खेलकुद र सूचना प्रविधिलगायत १० मुख्य बुँदामा केन्द्रित रहेर छलफल गर्ने तयारी छ । यद्यपि, हवाई प्रवेश मार्ग (एयर रुट) र सीमा विवादका विषय भने यस पटकको औपचारिक वार्ताको एजेण्डामा समावेश गरिएका छैनन् ।

द्विपक्षीय वार्ता सम्पन्न भएपछि दिउँसो १२ः३५ बजे प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले विभिन्न विकास परियोजनाको भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गर्नुका साथै दुई देशबीच भएका समझदारीपत्र (एमओयू) तथा सम्झौता आदानप्रदान गर्ने कार्यक्रम छ । सोही अवसरमा दुवै प्रधानमन्त्रीले संयुक्त प्रेस वक्तव्यसमेत जारी गर्नेछन् ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी शाहको सम्मानमा दिउँसो १ः१५ बजे दिवाभोज आयोजना गर्नेछन् । दिवाभोजपछि प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहितको सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले आइतबार साँझ नै भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् । दिल्लीका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आज अपराह्न ४ः५० बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश प्रस्थान गर्नेछन् । उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्